उपनिर्वाचनका लागि २० दल दर्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७७६ दिन अगाडि
उपनिर्वाचनका लागि  २० दल दर्ता

 काठमाडाै‌ -इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा १५ वैशाखमा हुने निर्वाचनमा भाग लिन २० दल दर्ता भएका छन् । 

दर्ता भएका दललाई निर्वाचन आयोगले सोमबार निर्वाचन चिह्न वितरण गरेको छ । आयोगका अनुसार इलाम २ मा २० र बझाङ १ मा १९ दल दर्ता भएका हुन् ।  इलाम २ को उपनिर्वाचनमा भाग लिन मंगोल नेसनल अर्गनाइजेसन, नेपाल कम्युनिस्ट पार्टी  (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी), नेपाली जनता दल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, बहुजन शक्ति पार्टी, आम जनता पार्टी, नेसनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टी, राष्ट्रिय मातृभूमि पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल दर्ता भएका छन् । 

बझाङ प्रदेश सभा १ मा रास्वपाले भाग लिएको छैन । अन्य सबै दलले यहाँ भाग लिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । इलाम २ मा एमालेबाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले रिक्त स्थानमा निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि कुनै पनि दलले उम्मेदवार तय गरिसकेका छैनन् । पहिलेको गठबन्धन टुटेर नयाँ गठबन्धन बनेकाले एमाले, माओवादी, रास्वपालगायतका दल आन्तरिक छलफलमै छन् । रास्वपा अहिलेको सत्ता गठबन्धनमै भए पनि एक्लै चुनाव लड्ने निर्णय गरेको छ । प्रतिपक्षी कांग्रेस पनि उम्मेदवार छनोटको आन्तरिक छलफलमा जुटेको छ । गत वर्षको निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन थियो ।