फिल्म 'बोक्सीको घर' को गीत सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७७३ दिन अगाडि
फिल्म 'बोक्सीको घर' को गीत सार्वजनिक

काठमाडाै‌ -अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म 'बोक्सीको घर' को गीत सार्वजनिक भएको छ।

बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश 'जिन्दगीको कथा, यता न उता' बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ।  गीतको भिडिओमा अभिनेत्री केकी र फिल्मका निर्देशक तथा अभिनेता सुलक्षण भारतीलाई देख्न सकिन्छ। आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि रहेर अभिनेत्री केकीले यो फिल्म निर्माण गरेकी हुन्। उनले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन्। महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो।

फिल्ममा केकी र सुलक्षणसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ। केकी अधिकारी फिल्मसको प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन्। सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन्। फिल्मका कार्यकारी निर्माता राज घिमिरे हुन्।लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ। टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ। यो फिल्म वैशाख १४ गतेदेखि रिलिज हुँदैछ।