काठमाडाै -गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्।
अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने समयसीमा सकिएपछि राजीनामा दिएका हुन्। मुख्यमन्त्री पाण्डेले बुधबार बिहान गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका छन्। हाल विश्वासको मत पाउने अवस्था नरहेकाले मागेर नपाउनुभन्दा राजीनामा दिने निर्णयमा मुख्यमन्त्री पुगेको सचिवालयको भनाइ छ। केन्द्रमा २१ फागुनमा सत्तागठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री पाण्डेले सरकारमा सहभागी माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए। मुख्यमन्त्रीसँगै कांग्रेसका पाँच र माओवादीका दुई गरी सात सदस्य मन्त्रिपरिषद् गण्डकीमा रहेको थियो।
आफ्ना पार्टीका मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरेपछि २३ फागुनमा माओवादीले पाण्डे नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएको थियो। माओवादीले दिएको समर्थन फिर्ता लिएसँगै पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो।अल्पमतमा परेका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाअनुसार २२ चैतभित्र प्रदेश सभाबाट नेपालको संविधानको धारा १८८ को उपधारा ९२० र प्रदेश सभा नियमावली, २०७९ को नियम १४३ बमोजिम विश्वासको मत लिनुपर्ने हुन्छ। विश्वासको मत लिनका लागि प्रदेश सभाको अधिवेशन आह्वान गरेसँगै विश्वासको मत लिनुभन्दा दुई दिनअघि मुख्यमन्त्रीले प्रदेश सभा सचिवालयलाई जानकारी गराउनुपर्ने हुन्छ। जुन समय मंगलबार सकिएको छ।