बद्रीबहादुरको ‘पब्लिसिटी स्टन्ट’: चलचित्र नचले कलाकारिता बाटै सन्यास लिने जयकिशनको घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५८ दिन अगाडि
बद्रीबहादुरको ‘पब्लिसिटी स्टन्ट’: चलचित्र नचले कलाकारिता बाटै सन्यास लिने जयकिशनको घोषणा


काठमाडौं –  चलचित्र ‘बद्रीबहादुर’को निर्माण टिम यतिबेला प्रचार प्रसारमा व्यस्त छ । चैत २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्रचार प्रसारमा फिल्मकर्मी दाजुभाइ शोभित बस्नेत र जयकिशनलाई यतिबेला भ्याइनभ्याइ बनेको छ । यसैबीच निर्माण टिमले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रका बारेमा जानकारी गराएको छ । कमेडी जनरामा निर्माण गरिएको चलचित्रले दर्शक तान्ने निर्माण पक्षको दावी रहेको छ । 

यसैबीच चलचित्रका अभिनेता जयकिशन बस्नेतले चलचित्रलाई दर्शकले मन पराउने दावी गरे । उनले यदि चलचित्र नचलेमा आफूले कलाकारिता बाटै सन्यास लिने घोषणा पनि गरे । यद्यपि जयकिशनले चलचित्रको सफलता असफलताका बारेमा भने भविष्यवाणी गर्न चाहेनन् । जयकिशनको कलाकारिता बाटै सन्यास लिन्छु भन्ने विषय भने चलचित्रको ‘पब्लिसिटी स्टन्ट’ बाहेक अरु केही होइनभन्ने प्रष्ट देखिन्थ्यो। उनको बोल्ने शैली र हाउभाउले पनि ‘पब्लिसिटी स्टन्ट’को संज्ञा दिइरहेको थियो ।

कलाकारिताबाट सन्यास लिने बताउँदै जयकिशनले भने, ‘मैले निर्माण गरेका फिल्ममध्ये पछिल्लो फिल्म धूम ४ असफल भयो । असफलताको दुःख छ । यसपटक हँसाउने फिल्म निर्माण गरेको छु । यो फिल्म चलेन भने म कलाकारिता नै छोड्छु ।’

चलचित्र शुक्रबार, शनिबार र आइतबार फिल्म मज्जाले चल्नेमा कलाकार जयकिशन ढुक्क देखिए । यता निर्देशक शोभित बस्नेतले पनि चलचित्र मौलिक मसाले दार भएकाले दर्शकले रुचाउनेमा आशावादी रहेको बताए । उनले भने, ‘यो फिल्म हेरिरहँदा दर्शकलाई नयाँ नलाग्न सक्छ, तर हेरुञ्जेल आनन्द आउँछ । मेरो २८ वर्षे फिल्मी करियरमा बद्रीबहादुर अर्को राम्रो फिल्म हो।’ यस्तै कार्यक्रममा बोल्दै चलचित्रका डेब्यु कलाकार राजीव जंग बस्नेतले ‘बद्रीबहादुर’ चलचित्रमा काम गरेर धेरै कुरा सिक्न पाएको बताए । उनले बद्रीबहादुरमा अभिनय गर्न पाउनु पनि खुसीको कुरा भएको प्रतिक्रिया दिए । 

जयकिसनसँगै एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं तथा निर्देशक बस्नेत स्वयंको अभिनय रहेको चलचित्रलाई रामकाजी घिमिरेले लेखेका हुन् । 
टंक बुढाथोकी र उजन नेवाङको संगीत रहेको चलचित्रमा पुजा शर्मा र सलोन बस्नेतलाई पनि देख्न सकिने छ ।