बोक्सी पात्र मेरो कम्फर्ट जोन हुँदै होइन
काठमाडौं- फिल्म 'बोक्सीको घर'को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेल र सार्वजनिक गरिएको हो।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण टिमले अभिनेत्री केकी अधिकारीका साथमा कथित ‘बोक्सी’कै हुलियामा प्रस्तुत भएर पत्रकार तथा आगन्तुकहरूलाई तर्साउने प्रयास गरे ।
सुलक्षण भारती निर्देशित यो फिल्म केकी अधिकारीले निर्माण गरेको पहिलो फिल्म हो । सोही कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ आफ्नो एक इमान्दार प्रयास रहेको बताइन्।
उनले भनिन्,‘एउटा फरक शैलीको अनि कहिलै नदेखीएको र नभनिएको कथा पर्दामा आउँदैछ । जसमा हामीले इमान्दार कोशिस गरेका छौं।’
फरक स्वादको चलचित्र दिन सकौं भनेर सम्पूर्ण टिमले तीन वर्षदेखि निरन्तर मेहनत गर्दै आएको पनि कार्यक्रममा अभिनेत्री अधिकारीले बताइन् । फिल्मको सानो हिस्सा अर्थात् ‘ट्रेलर’ दर्शक माझ पस्किएको क्षण पनि आफूलाई ‘इमोसनल मोमेन्ट’ भएको अधिकारीको प्रतिक्रिया थियो।
फिल्मको सफलता–असफलताको विषय भन्दा पनि सिर्जनात्मक र रचनात्मक ‘आइडिया’हरूमा बसेर प्रोजेक्ट सम्पन्न गर्नु नै ठूलो विषय भएको बताइन् ।
‘यो गरौँला त्यो गरौँला भन्ने आइडियाहरु हाम्रो दिमागमा धेरै आउँछन्, तर तिनीहरु कती टेबलमा आउछन् र कति कार्यान्वायनमा आउँछन् भन्ने विषय महत्वपूर्ण हो,’ अभिनेत्री अधिकारीले थपिन्,‘ हाम्रो टिमले यहाँसम्मको बाटो तय गर्न सकेको छ, टिमकै आइडियालाई पर्दामा उर्तान सकेको छ यस हिसाबले हाम्रो प्रोजेक्ट आफैमा सफल क्रिएशन हो।’
अभिनेत्री अधिकारीले चलचित्रको सफलता असफलताको मापन बैशाख १४ पछि दर्शकले गर्ने भएपनि निर्माण टिमले तय गरेको आजसम्मको यात्राले भने सफलता प्राप्त गरिसकेको दाबी गरिन् ।
अभिनेत्री अधिकारीले आफ्नो कथित ‘बोक्सी’ पात्रका बारेमा पनि बताएकी छिन् । फिल्ममा आफूले निर्वाह गरेको पात्र ‘कम्र्फट जोन’मा रहेर नगरिएको पनि प्रष्ट पारिन् । उनले पात्रको न्याय गरेको र त्यसका लागि निर्देशक सुलक्षण भारतीलाई विशेष धन्यवाद दिइन् ।
‘बोक्सी पात्र मेरो कम्फर्ट जोनको पात्र हुँदै होइन । मैले धेरै मेहनत गर्नु पर्ने थियो। निर्देशक सुलक्षण जीले छ महिनासम्म वर्कसप गराउनु भयो । यसले पात्रको चरित्रचित्रणमा ठूलो सहयोग पुर्यायो।’
फिल्मको थिम र कथाले मागेको पात्र अनुरुप केकी अधिकारीको वास्तविक हाउभाउ र चरित्रभन्दा भिन्न देखियोस भनेर धेरै मेहनत गरेकाले त्यसमा सबै क्रिएटिभ टिमको महत्वपूर्ण भूमिका रहेकोसमेत बताइन्।
कार्यक्रममा बोल्दै अभिनेत्री अधिकारीले आफ्नो मनको नजिकको कथा र पात्र निर्वाह गरेको फिल्म रहेकाले बैशख १४ गतेबाट नजिकको हलमा गएर हेर्न र लागेका सुझाव दिन पनि सम्पूर्ण दर्शकमाझ आग्रह गरिन् ।
ट्रेलर भिडियो