उपनिर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन, आजै चुनाव चिह्न वितरण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५५ दिन अगाडि
उपनिर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन, आजै चुनाव चिह्न वितरण

काठमाडौं - आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित हुँदै छ ।

अन्तिम नामावली प्रकाशित भएपछि आजै उनीहरुलाई चुनाव चिह्न वितरण गरिने छ  ।प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ ९१० मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि चैत २५ गते उम्मेदवारी दर्ता भएको थियो । २६ गते मनोनययन पत्र र उजुरीमाथि जाँचबुझको दिन तोकिएको थियो । तर कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैले इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जना तथा बझाङ क्षेत्र नम्बर १ ९१०मा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवारको नामावली प्रकाशन भइसकेको छ । अब ती उम्मेदवारहरुमध्ये कसैले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा आज चैत २७ गते फिर्ता लिन सक्ने छन् । उम्मेदवारी फिर्ताका लागि आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि आजै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनको मतदान भने वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ । ४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।