काठमाडौं - सशस्त्र प्रहरी बल (एपीएफ)को सतुंगलस्थित केन्द्रीय गोदाममा भएको आगलागी घटना छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि मन्त्रालयका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई जानकारी दिए। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डेको संयोजकत्वमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिव स्तरको प्रतिनिधि, गृहका उपसचिव सागरमणि पाठक र बरिष्ठ कम्युटर इन्जिनियर सुस्मा श्रेष्ठको समिति बनाइएको छ ।
समितिले १० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ । आगलागीको कारण, क्षतिको विवरण र आगामी दिनमा यस्तो हुन नदिन गर्नुपर्ने कामहरुको बारेमा समेत सुझासहितको प्रतिवेदन पेश गर्नुपर्ने बताइएको छ। सोमबार साँझ आगलागी भएको घटनामा यसअघ सशस्त्र प्रहरी बलले एआईजी वंशिराज दाहालको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो । आगलागीबाट ठूलो मात्रामा बन्दोबस्तीका सामानहरु जलेको सशस्त्र प्रहरीले जनाएको छ ।