काठमाडौँ- शुक्रबार (आज) बिहानदेखि हलमा दुई नेपाली फिल्म प्रदर्शन भइरहेको छ।
फिल्म रामबाबु गुरुङको निर्देशनमा बनेको ‘डिग्री माइलाः एम ए थर्ड क्लास र फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ नयाँ वर्षको अवसरमा प्रदर्शन भएका दुई फिल्मको कथावस्तु फरक फरक छ। ‘डिग्री माइला’ मा डिग्री पास गरेपछि अहमताले भरिएको माइलो पात्र, समाजले ऊसँग राखेको अपेक्षा र उसले शिक्षक बन्न गरेको संघर्ष प्रस्तुत गरिएको छ । फिल्ममा कलाकार अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् भने अन्य कलाकार आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय देख्न सकिन्छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको फिल्मका निर्माता विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ हुन् । फिल्म बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण भएको हो।
फिल्म ‘द रेड सुटकेस’ वैदेशिक रोजगारी लागि विदेसिएका नेपालीका शव पुर्याउने एक ड्राइभरको दैनिकीमा आधारित छ। फिल्ममा कलाकार सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ, विपिन कार्कीलगायत कलाकारको अभिनय छ। फिल्म सुशन प्रजापतिले छायांकन र समन अलभितिगाले सम्पादन गरेका हुन्। फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह-निर्माताको रुपमा छन्।