काठमाडौं - लिभरपुलले युरोपा लिग क्वाटरफाइनल पहिलो लेगमा एटलान्टासँग अप्रत्याशित हार बेहोरेको छ ।
इटालियन क्लब एटलान्टाले लिभरपुललाई उसकै मैदानमा तीन शून्य गोलले स्तब्ध पारेको हो । एनफिल्डमा गएराति भएको खेलमा एटलान्टाले ३८ औँ मिनेटमा अग्रता लिएको थियो । पाहुना टोलीका लागि वेस्टह्यामका पूर्व फरवार्ड जानलुका स्कामाकाले गोल गरेका हुन् । ब्रेकपछि पनि योर्गन क्लोपको टोली खेलमा फर्कन नसक्दा एटलान्टाले भने थप दुई गोल थप्यो । ६० औँ मिनेटमा स्कामाकाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलसँगको दुरी बढाएका थिए ।
८३ औँ मिनेटमा चेल्सिका पूर्वखेलाडी मारियो पासालिचले रिबाउन्डमा गोल गरेपछि एटलान्टाले पहिलो लेगमा तीन-शून्यको अग्रता बनाउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । लिभरपुलका डार्विन नुनियाजले गोलका दुई सुनौलो अवसर गुमाएका थिए । बेन्चबाट मैदान प्रवेश गरेका मोहम्मद सालाहको प्रयास पनि सफल भएन् । पाहुना टोलीले जीतपछि भव्य सेलिब्रेसन गरेको थियो ।
अर्को साता हुने दोस्रो लेग एटलान्टाको मैदानमा हुनेछ । युरोपा लिगकै अर्को खेलमा रोमाले एसी मिलान विरुद्ध क्वाटरफाइनलको पहिलो लेगमा एक-शून्य गोलको जीत हात पारेको छ । सान सिरोमा भएको खेलमा रोमाले घरेलु टोली विरुद्ध १७ औँ मिनेटमा गोल गरेको थियो । उसका लागि पाउलो डिबालाको कर्नरमा जानलुका मान्चिनीले गोल गरेका हुन् । मिलानका ओलिभर जिरुडले साबिक उपविजेताविरुद्ध बराबरी गोल फर्काउन गरेको प्रयास सफल भएन् ।