सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, एमाले अझै पर्ख र हेरमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७४६ दिन अगाडि
सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, एमाले अझै पर्ख र हेरमा

काठमाडाै‌ - सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन हो।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय बिहीबार साँझ ५ बजे सकिँदैछ।सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने तयारी गरेका छन्।त्यसका लागि एकीकृत समाजवादी बिहीबार बिहानैदेखि छलफलमा जुटेको छ।तर नेकपा (एमाले) भने अझै निर्णयमा पुग्न सकेको छैन। नेकपा (एमाले) ले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न चाहेको छैन। एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्दा आपत्ति नहुने तर पात्र परिवर्तन गर्नुपर्ने एमाले नेतृत्वको चाहना छ।एमालेको मनोदशा बुझेरै एकीकृत समाजवादीले बुधबार केन्द्रीय सचिवालय बैठकबाटै सोडारीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो।तर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भने आफूहरू पर्ख हेरको अवस्थामा रहेको बताए।‘हामी पर्ख र हेरकै अवस्थामा छौं,’ उनले भने, ‘हाम्रो निर्णय कुर्न केहीबेर पर्खनै पर्ला।’सुदूरपश्चिममा एकीकृत समाजवादीका चार सांसद छन्। एमालेले सोडारीको सट्टामा यसअघि आर्थिक मामिला मन्त्री बनेका नरेश शाही, प्रकाश रावल, माया पन्तमध्ये जसलाई बनाए पनि समर्थन गर्ने बताएको छ। २०७७ सालमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्री रहेका बेला सोडारी कारबाहीमा परेका थिए।

तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला सोडारीको अश्लील संवाद बालुवाटार पुगेको थियो।एकजना महिलासँगको त्यो अश्लील संवाद सुनेपछि अध्यक्ष ओलीले उनलाई मन्त्रीबाट हटाउन भनेका थिए। र, पार्टीबाटसमेत कारबाही गरेका थिए। २०७७ साल पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा पनि विभाजित भयो। तत्कालीन अध्यक्ष र अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले सोडारीको कारबाही फुकुवा गरेका थिए।त्यसको केही समयमा भौतिक पूर्वाधार मन्त्री बनेका सोडारी अहिले एकीकृत समाजवादी संसदीय दलका नेता छन्।आफैले कारबाही गरेको व्यक्ति बोक्न एमालेलाई कठिन भएको पार्टीका नेताहरू बताउँछन्।गत आइतबार संविधानको धारा १६८ ९२० अनुसार नै नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा छुट्टाछुट्टै दाबी पेश गरेका थिए।कैलासले नेकपा (एमाले) का १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका २ र स्वतन्त्र सांसद तारा जोशीको समर्थन रहने गरी दाबी पेश गरेका थिए।लक्ष्मणकिशोरले नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ५ र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ सांसदको समर्थन रहने गरी दाबी पेश गरेका थिए। तर प्रदेश प्रमुख मियाँले दुवै दाबी खारेज गर्दै दुई दिनको समय दिएर पुनः मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न भनेका हुन्।