काठमाडाै- हिमालको फेदमा रहेको पर्यटकीय गाउँ ओलाङ्चुङ्गोलामा तमोर कोरिडोर सडकको ट्रयाक पुगेसँगै जिल्लाका सबै वडा सडक सञ्जालले जोडिएका छन्।
चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको तिब्बतसँग सिमाना जोडिएको ओलाङ्चुङगोलासम्म तमोर कोरिडोरको ट्रयाक पुगेसँगै जिल्लाका सबै वडामा सडकको पहुँच पुगेको हो। हिमाली तथा दुर्गम बस्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलासम्म एक साताअघि मात्र सडकको ट्रयाक पुगेको हो। एक नगरपालिका र आठ गाउँपालिकासहित नौ वटा स्थानीय तह रहेको जिल्लामा ६१ वटा वडा रहेका छन्।
ओलाङ्चुङगोला बस्ती तीन हजार २०० मिटरको उचाइमा छ। ओलाङ्चुङगोलासम्म ट्रयाक पुगेसँगै छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतसमेत यसतर्फबाट सडक सञ्जालमा जोडिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताए । निर्माणाधीन तमोर कोरिडोरले तिब्बत–नेपाल सिमाना टिपताला भञ्ज्याङलाई जोडेको छ । ट्रयाक निर्माण भएपछि ओलाङ्चुङगोलासम्म यातायातका साधन पुग्न थालेको वडाध्यक्ष छेतेन लामा शेर्पाले बताए । बर्खामा भने सडक हिलाम्मे तथा पहिरो जाने भएकाले यातायातका साधन नचल्ने वडाध्यक्ष शेर्पाले बताए । तमोर नदीमा कम्तीमा तीन वटासम्म मोटर गुड्ने पुल निर्माण भए मात्र बर्खामा पनि सहज रुपमा यातायात सञ्चालनमा आउने छ । यस्तै ओलाङ्चुङगोलादेखि टिपतालातर्फ निर्माण भएको सडक मर्मत सम्भारसहित स्तरोन्नति गर्नुपर्ने वडाध्यक्ष शेर्पाले बता ए। एक वर्षअघि मात्र सडक पुगेको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेसहित अन्य केही वडामा पनि बर्खामा यातायात सञ्चालन हुने स्थिति छैन । सबै वडामा सडक सञ्जाल पुगे पनि कच्ची ट्रयाक भएको र धेरै ठाउँमा मोटरेवल पुल नभएकाले बर्खामा यातायात सञ्चालन सहज छैन ।