काठमाडौ -आयुर्वेदिक उपचार पद्धति पूरानो उपचार विधी हो । आयु र वेद दुई शब्द मिलेर नै आयुर्वेद बनेको छ ।
जीवनलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर अध्ययन गर्ने विषय नै आयुर्वेद हो । यसको मुख्य उदेश्य नै स्वस्थ्य मानिसलाई अझ कसरी राम्रो स्वास्थ्यमा राख्न सकिन्छ र बिरामीलाई कसरी निरोगी बनाउन सकिन्छ भनेर अध्ययन अध्यापन, खोज हुने विधा नै आयुर्वेद हो । कसरी आम नागरिकको जीवनलाई स्वस्थ्य बनाउने । त्यसका लागि के गर्न सकिन्छ भन्ने कुरा आयुर्वेदमा पाइन्छ । अहिले विज्ञानको जमाना छ । जहाँ पनि प्रमाण चाहिने भएकाले देखाउनुपर्छ । तर, आयुर्वेदमा पर्याप्त अध्ययनहरु भएको छैन । अपग्रेड गर्ने काम भएको छैन । त्यसैले आयुर्वेद पछाडि परेको छ । एलोप्याथिक अहिले यति माथि जानुमा त्यसको प्रथम विन्दु नै आयुर्वेद हो । ब्रम्हाले मान्छे मात्रै उत्पत्ति गरेनन् सँगसँगै उपचारका लागि भनेर आयुर्वेदको पनि रचना गरेका थिए । एलोप्याथीको जड नै आयुर्वेद हो । अहिले आयुर्वेद प्राइमरी प्राथमिकतामा पर्न नसक्नुमा यो क्षेत्रमा एलोप्याथीमा जस्तो लगानी नहुनु, आयुर्वेदबारे राम्रो ज्ञान र शिक्षा एवं म्यानपावरको कमी हो । जस्तो झाडापखाला लाग्यो भने अस्पताल जाउ भनेर जनचेतनामूलक विज्ञापन सरकारले नै गरेको छ । तर, कतै पनि आयुर्वेदको विषयमा सरकारले कुनै एउटा प्रचार गरेको छ र ? अन्य क्षेत्रबाट पनि आयुर्वेद तल परेकै छ तर सरकारी स्तरबाट पनि यसलाई अपहेलित गरिएको छ । जसका कारण नै जुन रफ्तारमा एलोप्याथीको विकास विस्तार भयो त्यसमा आयुर्वेदको हुन नसकेको हो । तर नराम्रो भन्ने पनि होइन ।
परामर्शविना जडीबुटी खान मिल्छ ?
हामी त पढेर डाक्टर बन्यौं तर कतिपय त परम्परागत रुपमै वैद्य हुनुहुन्छ । जसलाई यो विधामा ज्ञान छ । त्यस्ता वैद्यहरुले दिएको औषधि खान वा प्रयोग गर्न मिल्छ । हामी खोकी लाग्दा ज्वानोपानी पिउँछौं । परापूर्वकबाटै नुन खाने, खोकी लाग्दा बेसार पानी खाने गर्दै आएका छौं । यसका लागि डाक्टरकहाँ जानुपरेन । तर कतिपय विरुवा यस्ता पनि छन् जसमा वीष हुन्छ । प्रशोधन नगरी प्रयोग गर्नै हुँदैन । गाउँघरमा सामान्य जडिबुटीहरु खाने कुरा सामान्य रहे तर अहिले बजारमा एवम बाटोबाटोमा बेच्ने खायुर्वेदिक ओखती खाँदा एकचोटी डाक्टरसँग सोध्नुपर्छ । कसैले भनेकै भरमा खानु हुँदैन त्यसको औषधीय गुण र अवगुणबारे राम्रोसँग जाँचबुझ गरेर मात्रै प्रयोग गर्न मेरो सल्लाह छ ।
मलद्वारमा लाग्ने रोग कति घातक ?
मुख्यतया यहाँ जनचेतनाकै कमी देखिन्छ । जति पढेको बुझेको भए पनि एक पोइन्टमा पुगेर उनीहरु मलद्वारमा लाग्ने रोगबारे खुलेर कुरा गर्न चाहँदैनन् । मानिसहरु खाने मुखको लागि कति धेरै स्याहार गर्दछन् तर मलद्वार जस्तो महत्वपूर्ण अंगको बारेमा बुझ्न, जाँच गराउन भने हिच्किचाउने गर्छन् । मुखलाई बिहान उठेर धुने, दाँत ब्रस गर्ने गरेजस्तै आफ्नो मलद्वार पनि सफा र सुरक्षित छ कि छैन भनेर ध्यान दिनुपर्छ । हरेक व्यक्तिले पायल्स, फिस्टुला, फिसर छ कि छैन भनेर जाँच गर्ने गर्नुपर्छ । मानिसलाई जीवन छउन्जेल मलद्वार चाहिन्छ भने खाने मुखको स्याहार गरे झैं त्यसको पनि स्याहार गर्नु आवश्यक पर्छ । मैले कतिपय विरामीको मलद्वार हेर्ने क्रममा दिशा समेत राम्ररी नधोएको पाएको छु । कति हेला गर्छन् मानिसहरु मलद्वारलाई ! एक त ज्ञान भएर पनि डाक्टरकोमा जचाउन नजाने अनि मलाई क्यान्सर नै भयो कि भनेर भित्रभित्रै पिल्सिँदै बस्ने प्रवृति बिरामीहरुमा बढी देखिन्छ ।
अज्ञानता भन्दा पनि मलद्वार कसैले देख्दैन जे गरेपनि हुन्छ भन्ने मानसिकता देखिन्छ । त्यसैले मलद्वारमा के हुन्छ र भन्ने मूर्खतापूर्ण रुपमा हेलाँ गरिरहेको पाइन्छ । ।मलद्वार फोहोर ठाउँ हो यसमा भाइरसहरु हुन्छ भनेर बढी सरसफाई गर्नुपर्छ भोलि कुनै रोग पो लाग्ने होकि भनेर चेक गराउन जानुपर्नेमा मलद्वार हो रोग लागेपनि देखिँदैन भनेर १० वर्षदेखिको समस्या लिएर बसेका हुन्छन् मानिसहरु । यो जनचेतनाको कमीले पनि होइन धेरै नै लापरवाही गरेका कारणले हो । मलद्वारमा हुने समस्याहरु अन्तरगत बढी मात्रामा फिसर, पायल्स, फिस्टुला पोरल्याब्स, प्यापिला, पोलिप र क्यान्सरसम्मका बिरामीहरु हुन्छन् । मेडिकलकै हिसावले पनि फिसर चाँही अत्यधिकलाई हुने गर्दछ । त्यो भनेको मलद्वार च्यातिनु वा फाट्नु हो । धेरै बल गरेर दिशा गर्दा मलद्वार फाट्न सक्ने समस्या बढी हुन्छ । त्यो भनेको छोटो समयमै हुने समस्या पनि हो । म कहाँ मलद्वार च्यातिएर, दुखेर,रगत बग्ने समस्या भएको बिरामी धेरै आउनुहुन्छ । त्यसपछि पायल्सको बिरामी धेरै हुन्छन् । पायल्स भनेको नशाहरु पेलिएर पोको परेको वा नशाहरुको गुच्छा हो । लामो समयसम्म कब्जियत भएकाहरुले बल गरेर दिशा गरिराख्नाले समस्या आउने गर्छ । मोटोपन, प्रोस्टेटको समस्या भएका तथा टुसुक्क बसेर गह्रौं भारी बोक्ने मानिसहरुलाई पनि पाइल्स हुनसक्छ । तेस्रोमा फिस्टुलाका बिरामी पर्छन् ।
फिस्टुला भनेको मलद्वारको भित्र विविध कारणले इन्फेक्सन भएर बाहिर डण्डीफोरजस्तो आउने, फुट्ने, पिलो जस्तो आएर पिप बग्ने तथा कहिलेकाँही रगत नै बग्ने पनि हुनसक्छ । यो मात्र होइन रेक्टर पोरल्याप्स भन्छौं । गाउँघरमा बेर्नो झर्ने समस्या भनेर बुझ्छन् । प्यापिला, रेक्टर पोलिपका बिरामी हामीकहाँ धेरै आउने गर्छन् । महिला र युवा पायल्सको समस्या धेरै अधिकांश महिलाहरुमा पायल्सको समस्या बढी देखिने गर्छ । महिला गर्भवती भएको समयमा उल्टी हुने, खान मन नलाग्ने जस्ता कारणले शरीरमा पानीको मात्रा कम हुने गर्छ । सुत्केरीपछि पनि ज्यादा फाइबरयुक्त खाना खाने तर पानी, सागसब्जी खान नदिने चलन छ । माछा, मासु र गरम मसला खुवाउने गर्नाले कब्जियतको कारणले फिसर, फिस्टुला हुने गरेको धेरै देखिन्छ । पुरुषको केशमा अत्यधिक मात्रामा मदिरा सेवन, तनाव, खानपिनको कारण पनि पायल्स हुने गरेको छ । कम निद्रा लाग्ने, समयमा खाना नखाने तथा ड्राइभ धेरै गर्ने पुरुषलाई बढी पाइल्स हुने गरेको मेरो अनुभव छ । हामीले पढ्दा ४० वर्ष कटेपछि बढी मानिसहरुलाई मलद्वारको समस्या आउँछ भनेर पढेका थियौं तर युवालाई अहिले बढी मात्रामा यस्तो समस्या देखिएको छ ।
पायल्सकै कुरा गर्दा यसको चारवटा अवस्था हुन्छन् । भित्री–बाहिरी पाइल्स गरी दुई वटा हुन्छन् । भित्री पाइल्समा पनि चारवटा अवस्था छ । त्यो भनेको फस्ट, सेकेण्ड, थर्ड र फोर्थ ग्रेड हो । फस्ट ग्रेडमा कहिलेकाहीं दिशा साह्रो भएर रगत गयो भने औषधिले काम गर्छ । सेकेण्डमा दिशा गर्दा मासु आफैं बाहिर आउने र जाने हुन्छ । त्यसमा आयुर्वेदिक औषधोपचारले राम्रोसँग निको पार्न सकिन्छ । थर्डमा र फोर्थ ग्रेडमा गएपछि हामी क्षारसूत्र र क्षारकर्मद्वारा उपचार गराउँछौं । यो विधिको प्रभावकारिता निकै राम्रो छ । उपचार गर्दा मलद्वारमा नदुख्ने सुई लगाएरसजिलै उपचार गर्न सकिन्छ ।
यसको शैल्यक्रिया भनेको चाहीं बिरामीको अवस्थामा निर्भर गर्ने कुरा हो । पायल्सका कारण जब रगत बग्न थाल्दछ त्यो निकै धेरै मात्रामा हुनेगर्छ । एक दिनमै एक पाउण्ड रगत जान्छ । छ–सात दिनमै रक्तअल्पता हुनेसम्मको जोखिम चाँही रहन्छ । रक्तअल्पता भयो भने मानिसमा दम बढेजस्तो हुने, शरीरमा तागत नहुने, उठ्नै नसक्ने र अन्त्यमा मानिस नै नरहन सक्ने अवस्था हुनसक्छ । पायल्सलाई लापरवाही गर्यो भने धेरै गाह्रो हुन्छ । हामीले यस्ता बिरामीलाई धेरै मात्रामा क्षारकर्म विधिबाट उपचार गर्छौं । मलद्वारमै उपचार गर्दा दिशा वा पिसाप गर्दा दुख्नु, पोल्नु स्वाभाविक कुरा हो तर, क्षारकर्म विधिबाट उपचार गर्दा बिरामीलाई दुखाई कम हुने गरेको बताउँछन् । हप्ता दश दिन गा¥हो हुन्छ त्यसपछि धेरै सजिलो हुन्छ ।
खानपान र व्यायाम बिरामीले आहार र विहार दुवै कुरामा निकै ध्यान दिनु आवश्यक छ । वर्तमान समयमा हामी बसेरै धेरै काम गरिरहेका हुन्छौं । त्यसले शरीरमा अनेक समस्या निम्त्याउँछ । कम्तीमा पनि अनुलोमविलोम, कपालभाती र प्राणायाम जस्ता दुई चारवटा योगाभ्यास गर्ने बानी बसालौं । बिहान उठेपछि तीन किलोमिटर कम्तीमा कुद्ने गरौं । खानपानको विषयमा महत्वपूर्ण भनेको खान मिल्ने र कम खाने भनेर दुई भागमा विभाजन गरेर हेरौं । पानी, हरियो सागपात, खाजामा मैदाभन्दा गहुँबाट बनेको सुख्खा वा पानी रोटी खाने बानी बसाल्दा राम्रो हुन्छ । त्यो पनि सकिँदैन भने, गहुँ, जौ, भटमास, कोदो, फापर सबै कुरा मिसाएर सातु बनाएर खानु राम्रो हुन्छ । बढीभन्दा बढी रेशायुक्त खानेकुरा खाने गरौं । दिनमा एक पटक मात्रै भएपनि सिजनको ताजा फलफूल खाऔं । यी कुराहरु मिलाएर दिनमा चार पटक समय विभाजन गरेर खाने गरौं । अहिले सबैभन्दा धेरै पायल्सलगायतको समस्या धेरै डाइटिङ गर्नेहरुलाई देखिएको छ । १६ घण्टासम्म केही नखानेहरुलाई समस्या भयो भन्दै आउने गरेका छन् । तौल घटाउनु छ भने पहिला फ्याट कम गर्ने, गुलियो, मदिराजन्य र कार्बोहाइड्रेड भएका खानेकुरामा कम गरी एक्सरसाइज गरे तौल नघट्ने भन्ने नै हुँदैन । ‘नो डाइट, होइन व्यालेन्स डाइट गरौं ।’नखाने भनेको कम खाने हो । जस्तो ः माछा, अदुवा, मरिच, मदिरा र चुरोट मलद्वारका लागि समस्या गराउने भएकाले खानु हुँदैन । कुकरमा बनाएर वा उमालेर मासु खान चाहीं सकिन्छ । तर दुई पिस भन्दा बढी खानु हुँदैन । उसिनेको अण्डा पनि दुई वटासम्म खान सकिन्छ । मःम,चाउमिन जस्ता मैदाबाट बनेका जतिपनि खानेकुरा छन् सकेसम्म खाँदै नखाने गर्नुपर्छ । यदी कहिलेकाँही खाएपनि त्यसमा सागसब्जी राखेर खाँदा राम्रो हुन्छ । फाइबर कम हुने र गर्मी बढाउने कफी, मह जस्ता खानेकुरा पाइल्सका बिरामीले सकेसम्म खानुहुँदैन । खाए पनि निकै कम मात्रामा खानुपर्छ ।
फलफूलको कुरा गर्दा अम्बा, अनार, आँप र काँचो केरा नखानु राम्रो । खासमा टर्रो फलफूल कम खानुपर्छ । पाकेको केराले कब्जियत गराउँदैन । कटहरले चाँही गर्मी गराउने भएकाले नखान भनिएको हो। कब्जियत छ भने यी फलफूलहरु धेरै खानु राम्रो होइन । भिण्डीमा फाइबर हुन्छ, हरियो तरकारी सबैमा फाइबर हुन्छ । फाइबरले कब्जियत हटाउँछ । त्यसपछि पाइल्स निको हुने भैहाल्यो ।
हिजोआज एक वर्षको बच्चादेखि ९० वर्षको वृद्धसम्मका व्यक्तिहरु पाइल्सको समस्या भएर आउने गरेका छन् । उमेर समूहमा हेर्ने हो भने युवाहरुलाई धेरै पाइल्सको समस्या छ । बच्चालाई पाइल्स भयो भने दिशा गर्दा दुख्छ भन्ने मानसिकतामा पर्छ र त्यो बच्चाले झन दिशा गर्नै चाहँदैन । त्यसले उसलाई झन धेरै असर गर्छ । बच्चालाई पाइल्स हुनु भनेको संवेदनशील कुरा हो । यसमा परिवारका सदस्यहरुले ध्यान दिनुपर्छ । लाज नमानी बालबच्चा वा वयस्कलाई मलद्वारको समस्याबारे सम्झाउनु, बुझाउनु आवश्यक छ । हामीले संचालन गरेको मेदान्त आयुर्वेद हेल्थ होममा मलद्वारसम्बन्धी पाइल्स, फिसर, फिस्टुला, हाडजोर्नी, नशा च्यापिएकोलगायत माइग्रेन, पिनाश जस्ता विविध समस्याहरुले लिएर विरामीहरु आइरहनु भएको छ । त्यसका लागि होममा उपलब्ध विशेषज्ञले फरक फरक सेवा प्रदान गर्नुहुन्छ ।