काठमाडौँ - दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ । फिल्मको थिममा तयार गीतमा पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली. मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम र अभिनेता पल शाहलाई देखाइएको छ ।
निर्देशक राउतका शब्द र सुवास भुसालको सङ्गीत रहेको गीतमा देवेन्द्र बराल र मुना ठटालको स्वर छ । यसअघि सार्वजनिक गीत ‘दर्शन गरेँ’ले दर्शकको मन जितिरहेको समय यो गीतले चलचित्रको चर्चा अझै चुल्याउने निर्माणको विश्वास रहेको छ ।
फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन् । प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ ।उनको पूर्ण परिचय भने गराइएको छैन । पल शाहको भूमिका भने सस्पेन्समै राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको रूपमा प्रस्तुत गरिएको छ ।
फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको समेत अभिनय रहेको छ ।
चलचित्रका लेखक विकास सुवेदी हुन् भने यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए । चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् ।
राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।
गीतको भिडियो