काठमाडौ -उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपत् व्यवस्थापनमा समेत ‘बजेट छैन’ भन्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपत् व्यवस्थापनबारे संघीय सरकारले गरिरहेका कामबारे जानकारी दिने क्रममा मन्त्री लामिछानेले विपतकाे पूर्वतयारी र व्यवस्थापनमा बजेट अभावलाई कारण बनाउन नहुने बताए। ‘नागरिकको सुरक्षा र ज्यान जोगाउने विषय सरकारको अनिवार्य दायित्व हो। र, यो दायित्व पूरा गर्न स्रोत–साधनको अभाव हुनु हुँदैन,’ मन्त्री लामिछानेले भने, ‘स्रोत–साधनको जोहो गर्न समितिले पनि सरकारलाई निर्देश गरोस्।’
‘हामीले निरन्तर बजेट छैन भन्ने सुन्दै आएका छौँ। तर, कति छैन र कसरी जुटाउन सकिन्छ भन्नेबारे पर्याप्त छलफल हुँदैन,’ समितिका छलफल त्यसतर्फ पनि केन्द्रित हुने अपेक्षा गर्दै मन्त्री लामिछानेले गृह मन्त्रालय त्यसबारे खुलेर छलफल गर्न, आवश्यक स्रोतको जोहो गर्न र भएका कमी–कमजोरी सच्याउन तयार गरेको बताए। क्षति न्यूनीकरणको पूर्वतयारी भन्दा विपतपछिको व्यवस्थापनमा मात्रै केन्द्रित हुने प्रवृत्तिका कारण पनि स्रोतमा भार परिरहेको उनको भनाइ थियो। पूर्वतयारीमा सचेत र सजग हुन सके क्षति स्वतः घट्ने भए पनि पूर्वतयारीमै चुक्दा विपत् व्यवस्थापनमा सधैँ बजेटको सन्दर्भ आउने गरेको उनको भनाइ थियो।