काठमाडौं -नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ ।
दुई मुलुकबीच कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा द्धिपक्षीय आर्थिक सम्बन्ध विस्तार एवं लगानी प्रवर्धनबारे छलफल भएको हो ।
डा. डोमजाल्स्कीसँगको भेटका क्रममा चेम्बर अध्यक्ष कमलेश अग्रवालले नेपालको ग्रीन हाइड्रोजनमा लगानीका लागि आग्रह गरेका छन् । उनले भने, ‘नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको सम्भावना उच्च छ । विश्वमै ग्रीन हाइड्रोजनको माग उच्च छ । पोल्याण्ड नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक भएकाले पनि नेपाल लगानीका लागि आकर्षक गन्तव्य भएको जानकारी गराउछु ।’यस्तै, चेम्बर पदाधिकारीसँगको भेटका क्रममा आवासीय कार्यवहाक राजदूत डा. सेवेस्टियनले नेपालमा पाइने चिया र कफीको बजारको सम्भावना खोज्न सकिने बताए । दुई देश बीचको कूटनीतिक सम्बन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले पनि फाइदा खोज्नुपर्ने उनको भनाइ छ ।आवासीय राजदूत डा सेवस्टियनसँगको भेटमा अध्यक्ष अग्रवाल, वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, उपाध्यक्षहरु उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, निलकण्ठ चौलागाई एवं सन्तोष पाण्डे सहभागी थिए ।