कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव- रविलाई बोल्न दिनुस्, समिति बन्छ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१८ दिन अगाडि
कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव- रविलाई बोल्न दिनुस्, समिति बन्छ

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव कांग्रेस समक्ष गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोनमार्फत उक्त प्रस्ताव पठाएका हुन् ।सहकारी ठगी प्रकरणमा लामिछानेमाथि संसदीय समिति गठनको माग राखी संसद् अवरोध गर्दै आएको कांग्रेसले प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ,‘रवि लामिछानेलाई संसद्‌मा बोल्न दिनुस् । समिति बन्छ भन्नुभएको छ । यसमा हामी सकारात्मक छौं ।’

प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि पार्टीका शीर्ष नेतासँग परामर्श भइरहेको भन्दै नयाँ रणनीतिका साथ आज संसद्‌मा जाने लेखकले बताए । गृहमन्त्री लामिछाने पनि संसदीय छानबिन समिति गठनका लागि मार्ग प्रशस्त गर्न तयार देखिएका छन् । रास्वपाका सह–प्रवक्ता मनिष झाले लामिछाने गृहमन्त्रीबाट अलग भएर संसदीय छानबिन समिति गठनका लागि तयार भएको बताए ।  यस्तै लामिछानेले संसद्‌मा  बोल्न पाएपछि छानबिन समितिको गठनका लागि प्रमुख घटक एमाले पनि सकारात्मक देखिएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला लामिछानेलाई संसद्‌मा बोल्न दिए बाँकी कुरा अगाडि बढ्ने बताए ।