कन्टेन्ट र क्यारेक्टर दुवै पक्षबाट चलचित्र ‘पुजार सार्की’ अब्बल छ : अभिनेत्री परीक्षा लिम्बु

अन्तरजातीय प्रेम गाह्रो विषय रहेछ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१६ दिन अगाडि
कन्टेन्ट र क्यारेक्टर दुवै पक्षबाट  चलचित्र ‘पुजार सार्की’ अब्बल छ : अभिनेत्री परीक्षा लिम्बु

काठमाडौं- अभिनेत्री परीक्षा लिम्बु आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत देखिँदै छिन्। यसअघि उनी चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिएकी थिइन्।

चलचित्र पुजार सार्कीमा अभिनय गरेसँगै परीक्षा फिल्ममेकरको नजरमा परेकी छन्। ट्रेलर र गीतमा देखिएको उनको अभिनयबाट दर्शकमाझ पनि उनी परिचित छिन्।

अडिसन बाट चलचित्रमा अभिनयको अवसर पाएकी  उनले अडिसनका लागि मात्र विभिन्न ६ वटा भिडियो पठाएकी थिइन्।

‘उहाँहरूले मंगोलियन लुक्सकी युवती खोजिरहनुभएको रहेछ। मलाई चिन्नु हुनेले चलचित्रको अडिसन खुलेकोले प्रयास गर्न भन्नुभयो। त्यसपछि मैले सुरुमा एउटा भिडियो पठाएँ। म फिल्ममा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाइ सकेकी थिएँ’, उनले भनिन्।

अभिनयको भिडियो पठाइरहदा उनलाई कास्की जिल्लाको कास्कीकोट क्षेत्रको स्थानीय लवज बोल्न समस्या भयो। लवजकै कारण परीक्षालाई चलचित्रमा काम गर्ने या नगर्ने भन्ने अन्योलता सिर्जना भयो। यसको लागि चलचित्रको टिमले उनलाई भाषा ‘प्राक्टिस’ गरायो। चलचित्रक लागि जरुरी हुने भाषा र चरित्रको सबै सम्भावना देखेपछि उनी ‘पुजार सार्की’का लागि फाइनल भइन्।

परीक्षा यस चलचित्रमा ‘मैतबहादुर’को चरित्रमा देखिएका अभिनेता प्रदीप खड्काको जोडी ‘गौमाया मगर’को भूमिकामा देखिँदै छिन्।

प्रदीपसँग उनको यो पहिलो सहकार्य हो। ‘मैले प्रदीपजीबाट धेरै कुरा सिकेँ। उहाँ कसरी काम गर्नुहुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ। व्यक्तिगत रूपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ’, परीक्षाले भनिन्।

चलचित्रमा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह प्रमुख भूमिकामा छन्।

परीक्षालाई चलचित्रका तीन स्टारसँग सहकार्य गरिरहँदा के होला भन्ने चासो थियो। ‘उहाँहरू कसरी काम गर्नुहुन्छ अथवा मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ होला भन्ने कौतुहलता र डर पनि उतिकै थियो। तर उहाँहरूलाई भेटिसकेपछि त्यो सबै हरायो। उहाँहरूसँग त केही सिक्न पाउँछु भन्ने आशा जाग्याे भयो’, उनले भनिन्।

‘पुजार सार्की’ चलचित्रमा प्रदीपसँग परीक्षाको अन्तरजातीय प्रेम छ। चलचित्रमा गरेको अभिनयबाट प्राप्त अनुभवमा अन्तरजातीय प्रेम निकै गाह्रो हुने महसुस परीक्षाले गरेकी छन्।

‘चलचित्रमा म मगर समुदायको प्रतिनिधित्व गर्छु। हाम्रो समाजले अझै पनि जात भनेर हेरिरहेको छ। त्यो हेराइले उहाँहरूलाई मात्र नभएर उहाँहरूसँग जोडिएका सबै मान्छेहरूलाई गाह्रो भइरहेको मैले महसुस गरेँ। प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो हुँदो रहेछ’, परीक्षा भन्छिन्, ‘मेरो हकमा त्यो गाह्रो चलचित्रमा क्यारेक्टर भएर महसुस गर्न पाएँ। जुन रियल लाइफमा महसुस गर्न पाएको छैन। त्यो अनुभवका लागि म भाग्यशाली पनि छु।’

भूगोलले परीक्षा पूर्वकी अनि भाषा पश्चिमको। परीक्षाले यही चरित्रका लागि अध्ययन समेत गर्नुपर्‍यो, भाषागत अध्ययन उनका लागि रमाइलो अनुभव रह्याे। ‘आफूबाट अर्को मान्छे हुन पाउँदा इन्जोए गरेँ। किनभने ‘रियल’मा म जस्तो छु त्यो भन्दा फरक ‘रिल’मा छु। मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो। म पूर्वको मान्छे, पश्चिममा कसरी भिज्ने होला भन्ने चुनौती थियो,’ परीक्षाले बताइन्।

अभिनयको अनुभवलाई उनी ‘भोक’सँग तुलना गर्छिन्,‘भोक लागेको बेला जे खाए पनि मिठो हुन्छ। मेरा लागि ‘जारी’ र ‘छक्का पञ्जा’ त्यस्तै भयो। तर ‘पुजार सार्की’को हकमा भने भोक लागेको बेला मिठो खाने कुरा खान पाए जस्तै भयो।’

परीक्षा भन्छिन्, ‘जारी र छक्का पञ्जामा धेरै कुरा सिक्न पाएँ। पुजार सार्कीमा भने ती सिकेका कुरा लागु गर्ने कोसिस गरेकी छु। तीन वटै फिल्मको हकमा राम्रो ब्यानर, राम्रो ब्रान्ड, राम्रो टिमसँग काम गर्ने मौका पाएँ।’

राम्रो चलचित्र बन्न कलाकार र निर्देशकको ट्युनिङ मिल्नुपर्छ। परीक्षाको बुझाई पनि त्यही हो। परीक्षाको अनुभवमा निर्देशकसँग कलाकार केही डराउनु नै पर्छ। ‘त्यो डर भनेको निर्देशकप्रतिको सम्मान हो।

मैले गरेको काम ठिक वा बेठिक भनेर छुट्टाउने निर्देशकले नै हो। आफूले निभाएको चरित्रले न्याय दिन सक्यो सकेन वा निर्देशकको भिजन अनुसार चल्न सकियो या सकिएन भनेर केही डराउनु पनि पर्छ’, परीक्षा भन्छिन्, ‘निर्देशक दिनेश दाइको हकमा मलाई त्यही नै भयो। दिनेश दाइले यसअघि राम्रा चलचित्र बनाउनुभएको छ। यो चलचित्रको कन्टेन्ट र क्यारेक्टर पनि राम्रो भएकाले चलचित्र राम्रो बनेको छ भन्नेमा म ढुक्क छु।’

परीक्षालाई ‘पुजार सार्की’बाट ठुलो आस छ। उनको बुझाइमा उनको उमेरका धेरै दर्शकले ‘पुजार सार्की’ हेर्नुपर्छ। ‘किनभने पछि गएर समाज र देशको भविष्य बनाउने हामीले नै हो। अहिलेका मानिसलाई जातीय विभेद गर्नु हुन्न भनेर सम्झाउँन अझै समय लाग्छ, तर सानैदेखि नै जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ।’

चलचित्रले २०४६ मा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिने र जसरी सती प्रथा हट्यो त्यसरी नै जातीय विभेद पनि हट्नुपर्ने धारणा शीक्षाको छ ।

यस चलचित्रमा नेपालका तीन सुपरस्टार कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका छन् भने चलचित्रलाई विकास सुबेदीले लेखेका हुन। दिनेश राउतको निर्देशनमा तयार चलिचत्रमा अभिनेत्री अञ्जना बराइलीको पनि अभिनय रहेको छ । 

चलचित्र नेपाल र विदेशमा एकसाथ रिलिज हुने निर्माण पक्षको भनाई रहेको छ।