मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१७ दिन अगाडि
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ - मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  यसअघि रास्वपाका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै ध्यानाकर्षण गराएका थिए । मन्त्रिपरिषद् गठन भएपछि मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुपर्ने व्यवस्था भएपनि सरकारले कानूनबमोजिम भन्दै त्यसलाई गोप्य राख्ने गरेको थियो । तर रास्वपाका मन्त्रीहरुले नै त्यसबारे चासो राखेपछि सोबारे मन्त्रिपरिषद्ले निर्णय गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्राप्त मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ भने श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा पुन: संगीता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्री शर्माले स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रस्तावले बैठकले स्वीकृत गरेको जानकारी दिइन् । बैठकले संघीय संसद्को प्रतिनिधि सभामा विचाराधीन रहेको राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको छ ।