काठमाडौँ - आगामी जेठ १० गते देखि चलचित्र ‘पुजार सार्की’ प्रदर्शनको तयारीमा छ । जातीय विभेदको कथा बस्तुमा रहेर तयार पारिएको चलचित्र दर्शकका लागि प्रतीक्षित छ । तीन स्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल साहको एक साथ स्क्रिन सेयरिङ पनि दर्शकका लागि झनै प्रतीक्षाको विषय बनिरहेको छ ।
अदालतीय झमेलापछि अभिनेता पल साहको कम ब्याक प्रोजेक्ट भएर पनि चलचित्र पुजार सार्की उनका फ्यान फलोवर्सका लागि प्रतीक्षित छ । दिनेश राउतको निर्देशन तथा सुवास भुसालको लगानी रहेको चलचित्रमा मुख्य नायिकाका रूपमा अञ्जना बराइली र परीक्षा लिम्बु लाई देख्न सकिन्छ । चलचित्रलाई विकास सुबेदीले लेखेका हुन् । उनै लेखक सुबेदीसँग चलचित्र लेखन र पात्र चयनका विषयमा गरिएको विशेष कुराकानी (भिडिओसहित)
के हो चलचित्र पुजार सार्की ?
जात ब्यबस्था विरुद्ध तीन पात्रले गर्ने साझा सङ्घर्षको कथा हो पुजार सार्की । जति बेला हाम्रो चलचित्र घोषणा भयो त्यही बेला नै यो साझा सङ्घर्षको कथा हो भन्ने दर्शकलाई भनेका थियौँ ।
सँगसँगै यो ट्रेलर टिजर र गीतहरू आइसक्दा हाम्रो समाज भित्र रहेको वर्ण व्यवस्थालाई नयाँ सिराबाट डिस्कोर्समा ल्याउँछ भन्ने अपेक्षा छ । फरक–फरक आर्थिक अवस्था र जातीय अवस्थाका मानिसहरूको साझा सङ्घर्षको कथाका रूपमा चलचित्रलाई बजारमा ल्याएका छौँ ।
पुजार सार्की एउटा फगत चलचित्रमा मात्र नभई, समाजमा रहेका असन्तुष्टि, आफ्ना विचारहरू राख्दै आइरहेकाले पनि यो एउटा दृष्टिकोण हो र कालान्तरमा दर्शनका रूपमा स्थापित होस भन्ने चाहाना एउटा लेखकका रूपमा लिएको छु ।
यो कथा किन लेखियो ?
चलचित्र प्रकाश लेख्नु भन्दा अगाडी नै पुजार सार्कीको कथा दिमागमा थियो । यद्यपि यो कथा रिक्स जोनमा थियो । म निर्देशकका हिसाबमा काम गरिरहेको थिएँ । त्यसैले पनि पुजार सार्कीका कथा आफैमा चुनौतीपूर्ण थियो ।
त्यो समय म आँफैका लागि सिनेमामा इन्भेस्ट गर्नु सानो कुरा थिएन, ठुलो लगानीको कुरा थियो । यद्यपि प्रकाश सिनेमाबाट आफ्ना काम प्रमाणित भइसकेपछि भने केही सहज पक्कै थियो ।
यसपछि भने मैले धेरै जनालाई सुनाएको कथा हो पुजार सार्की। जसलाई मैले नयाँ प्रोजेक्टका रूपमा अघि बढाउनका लागि आफैले जोड दिएको थिएँ।
मैले बाल्यकालबाटै सुनेको नाम थियो पुजार सार्की । मेरो गाउँमा पुजार सार्की भन्ने एक पात्र थिए । उनलाई सबैले पुजार सार्की भनेर बोलाउने गरिन्थ्यो । एक दीन मेरो मनमा चासो पलायो । बुबालाई सोधेँ, ‘अरूको त खेमराज सुबेदी, राम अधिकारी आदी आदी नाम हुन्छ, तर उहाँको चाहिँ पुजार सार्की नाम राखेको रे?’
त्यही बेला जबाफ सुनेको थिएँ की, ती व्यक्ति पुजारी ब्राह्मणको सन्तान तर उनले सार्कीको छोरी बिहे गरेपछि पुजार सार्की भएका रहेछन् । उनकै जीवन सैली र सामाजिक परिवेश अनुसारको कथामा चलचित्र तयार गरिएको हो ।
अर्कातर्फ कास्की जिल्लाको कास्की कोट गाविस हालको पोखरा महानगरपालिका २४, कश्यप ऋषिले तपस्या गर्ने पवित्र भूमि भएको तथा राजनीतिक दिष्ट्रकोणले पनि नेपालको पहिलो शाह राजा कुल मण्डल खाँड जसले पछि साहा पद प्राप्त गरेर राज्य गरेको ठाउँ पनि हो।
अब चाहिँ कास्कीकोटलाई कुलमन्डल शाहको ठाउँ, कश्यप ऋषिको तपस्या गरेको पवित्र भूमि मात्र नभई पुजार सार्कीको भूमि हो भन्ने रूपमा चिनाउन पनि आफ्नै ठाउँको कथा लेखिएको हो । पुजार सार्की जसले आफ्नो जीवनमा देखाउनुभएको बाटो हाम्रो नेपाली समाजको एकता, सद्भाव र मानवीयताका महत्त्वपूर्ण बन्ने छ भन्नेमा समेत सिनेमा निर्माण टिम ढुक्क छ।
चलचित्र लेखिरहँदा तिन जना स्टार पात्र आर्यन, प्रदीप र पलको समीकरण चाहिँ कसरी मिलाउनु भयो ?
हामी एउटा सामाजिक प्राणी हौँ र हाम्रो सङ्गतको प्रभाव कहीँ न कहीँ पर्छ नै । मेरो सङ्गत आर्यनका लागि ‘नोभेम्बर रेन’ बाट क्लासिकसम्म रहिरह्यो । उहाँको अभिनय गर्ने तरीका, चरित्रलाई निभाउने कौशलबाट म प्रभावित मान्छे हुँ । सँग चलचित्र प्रकाशमा काम गरेसँगै प्रदीपसँग मेरो एकदम राम्रो सम्बन्ध बन्यो । पलसँगको मेरो सङ्गत त उनको सुरुवाती दिनदेखि उनको उचाइसम्म नै रहेकै थियो । जसलाई मेरो मस्तिष्कबाटै कहाँ र कुन दृश्यमा कसरी राख्न सकिन्छ भन्ने अनुमान लगाउन गाह्रो थिएन ।
त्यसैले यी चरित्रहरू कहीँ न कहीँ मेरो मस्तिष्कमा थिए । अर्कातर्फ करोडौँ रुपैयाँ लगानी गरेपछि त्यसको रिटर्नको एउटा पाटो पनि लेखकले सोच्नै पर्छ । निर्मातालाई समेत सुरक्षित राख्ने कोसिस गरेर चलचित्रका पात्रहरू तय गरिएको हो । जसले सिनेमा बजारलाई आर्ट मात्र नभएर व्यवसायीक ढंगले अघि बढ्न प्रेरित गरोस्।
अभिनेत्रीहरूको हकमा तीन स्टार अभिनेताका बिचमा अञ्जना बराइली र परीक्षा लिम्बुको पात्र छनौट र भूमिका चाहिँ कसरी तय भयो ?
कहिलेकाहीँ स्टार कलाकारका कारण कथाको पात्र नै गौण हुन जान्छ । चलचित्र लेख्दै गर्दा पनि कतै स्टारको स्टारडमले वास्तविक पात्र गौण रहने हो कि भन्ने डर पनि मलाई सधैँ रहिरहन्छ ।
चलचित्रमा मैयाँका रूपमा अञ्जना र गौमायाका रूपमा परीक्षालाई राखिएको छ । जसले वास्तवमै कथाले मागेका पात्रलाई चित्रण गर्न सहयोग पुर्याउँछ भन्ने विश्वासले छनौट गरिएको थियो । अन्ततः उहाँहरू आफ्नो पात्रलाई न्याय गर्न सफल हुनुभएको छ ।
चलचित्र प्रदर्शन र यसको सफलताको विषय कति चुनौतीपूर्ण छ र चलचित्रको कथा बस्तु नै नयाँ डिस्कोर्स स्थापति गर्न सक्ला?
म के कुरामा सफल भएको मान्छु भने, जुन चर्चा पुजार सार्कीले आज प्राप्त गरेको छ यसलाई ठुलो सफलता मानेको छु । गम्भीर विषयमाथिको प्रस्तुति र यसको अहिलेको चर्चा आफैमा सफलता हो ।
विभिन्न देशमा चलचित्र उत्साहका साथ विक्री भइरहेको छ भने डिजिटल क्षेत्रमा पनि यसको चर्चा व्यापक छ । आर्थिक दृष्टीकोणले चलचित्र ६०/६५ प्रतिशतले सुरक्षित भइसकेको छ । हलमा जानु अघिको यो उत्साहले नै भविष्यको डर र त्रास हटाएको छ ।
यद्यपि हलमा हेर्ने दर्शक फरक हुन् । उनीहरूले के भन्लान् भन्ने डर चाहिँ मनन छ नै । अबको एक हप्ता निन्द्रा नै नलाग्ने गरि डर पनि छ । आर्थिक रूपमा चलचित्रको सफलता असफलता भन्दा पनि, समीक्षात्मक रूपमा चलचित्र प्रकाशमा पाएको सफलता यसमा पाउँछु वा पाउँदिन भन्ने विषय प्रमुख बनिरहेको । सँगै चलचित्रको विषय वस्तुलाई दलित समाजले कसरी हेर्ला र यो वर्ण व्यवस्था बारमा कसरी बहस अघि बढ्ला भन्ने चासो पनि उत्तिकै छ ।
तपाईँ आफूले जतीय विभेदको कथा लेख्दै गर्दा, आफ्नो जीवनमा विभेद र उत्पीडनका घटना कति देख्नु भयो र महसुस गर्नु भयो ?
वर्ण व्यवस्था, जात व्यवस्था हुँदै विभेद हुँदै आएको हो । र आजसम्म पनि त्यसको निरन्तरता कहीँ न कहीँ बाट भइरहेकै छ । मेरो अघिल्लो पुस्ताबाट पनि यसको निरन्तर भएकै थियो । त्यसैले यसमाथि हामी सबैले क्षमा याचना गर्नै पर्छ र मैले चलचित्रमा पनि यो विषय प्रस्ट रूपमा अगाडी नै माफी मागेको छु । सँगै समुन्नत समाज निर्माणका लागि सबैसँग अपिल पनि गर्दछु ।
एउटा लेखक भएको नाताले चलचित्रको व्यावसायिक सफलताको चुनौती चाहिँ कति छ ?
चलचित्र प्रकाशमा लामो समय काम गरेँ र त्यसले चर्चा पनि राम्रै पायो तर, व्यावसायिक अफर भने खासै आएन । अहिले पुजार सार्कीको ट्रेलर सार्वजनिक भयो अनि मात्र मलाई नेपाली चलचित्र उद्योगको लेखकका रूपमा स्थापित गराइँदै छ ।
यससँगै मैले लेखेका अन्य कथाका बारेमा पनि पछिल्ला दिन छलफल र कुराकानी भइरहेको छ । यसको अर्थ के हो भने, लेखनमै मैले भविष्य देख्ने हो भने वर्तमान सिनेमा बजारको व्यावसायिक पाटोलाई पनि ध्यान दिन जरुरी रहेछ । यद्यपि आत्म सन्तुष्टिका लागि चलचित्र लेख्ने हो भने चाहिँ बजारको व्यावसायिक पाटोको ध्यान उति रहँदैन ।
चलचित्र समीक्षक तथा आलोचकका लागि लेखक कति जिम्मेवार रहनु पर्छ ?
मैले मेरो कामका बारेमा आएका गाली, ताली र सुझाव सबै कुरालाई मध्यनजर गरिरहेकै हुन्छु । अघिल्लो चलचित्र प्रकाशका सन्दर्भमा पनि मैले सबैको प्रतिक्रिया लिएरै अघि बढेको थिएँ । अहिले पनि सामाजिक सञ्जालमा आएका प्रतिक्रियालाई समेत लिएर म आफूलाई सुधार गर्न लागि परेको हुन्छु । यसको अर्थ हरेकको जीवनमा तारिफ, गाली र आलोचना सबैको आवश्यकता छ ।
अन्त्यमा एकै मितिमा दुई वटा चलचित्र प्रदर्शनमा आउँदै छन्, एउटा लेखकका हिसाबले तपाईँको धारणा के छ ?
एकै मितिमा दुई चलचित्र नआएको भए हुन्थ्यो भन्ने मेरो व्यक्तिगत धारणा हो । अघिल्लो प्रोजेक्टमा चलचित्र फर्की-फर्कीका निर्देशक र पुजार सार्कीको निर्देशकको लेखकका रूपमा मैले काम गरेको थिएँ । तर अहिले दुवै जनाको चलचित्र जेट १० गते एक साथ प्रदर्शनमा आउँदै छन् यो उति राम्रो विषय होइन । यसको दुखाई चाहिँ दुवै चलचित्रका निर्मातालाई बढी रहन्छ।
बाँकी कलाकारको कुरा गर्दा अनमोललाई पनि अहिलेको अवस्थमा एउटा हिट चलचित्रको आवश्यकता छ । यता प्रदीप, पल र आर्यन तीनै जनाको अभिनय यात्रालाई हेर्दा उनीहरूलाई पनि चलचित्र पुजार सार्की चल्नै पर्ने दबाब छ ।
हुन त तीन जना स्टारहरू एकै ठाउँमा आएर काम गर्नु संसारकै दुर्लभ विषय हो । यद्यपि पुजार सार्कीमा यो अवसर कलाकार र दर्शक दुवै पक्षलाई जुरेको छ । सँगै चलचित्र जुध्नु भनेको कलाकार वा निर्माता मात्र जुध्नु होइन सिङ्गो निर्माण पक्ष नै जुध्नु हो । यद्यपि कुनै एक मितिमा कुनै न कुनै चलचित्र एक साथ लाग्नु पर्छ नै । यस कारण जेठ १० गते फर्की फर्की र पुजार सार्की जुधेका होइनन् कि, एक साथ रिलिज भएका हुन् भनेर बुझ्न जरुरी छ।