राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता, एक मतको अपमान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१३ दिन अगाडि
राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता, एक मतको अपमान

काठमाडौं - सरकारले प्रतिनिधि सभाबाट राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ । 

मंगलबार निर्धारित समयभन्दा ढिलो सुरु भएको प्रतिनिधि सभा बैठकमा वेल घेरेर प्रमुख प्रतिपक्षी दल नारा लगाईरहेको थियो । त्यही समयमा सरकारले विधेयक फिर्ता लिएको हो । 
सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० सभामा पेश गर्न समय दिए । त्यसपछि मर्यादापालकको सुरक्षा घेरामा उभिएर गृहमन्त्री लामिछानेले सो विधेयक पेश गरे । त्यसपछि सभामुखले विधेयक फिर्ता लिने प्रस्तावमा कसैको विरोधको सूचना नपरेको उल्लेख गर्दै बहुमतले विधेयक फिर्ता लिन समर्थन गरेको घोषणा गरेपछि विधेयक फिर्ता भयो । 
तर, सो विधेयकबारे सभामुखले सांसदहरुको ध्यानाकर्षण गराउँदा सदनमा प्रतिपक्षी बेञ्चमा बसेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र हात उठाएर असहमति जनाएका थिए ।  त्यस क्रममा प्रमुख विपक्षी नेपाली कांग्रेस सँगै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुले पनि उठेर  विरोध गरिरहँदा सत्तारुढ सांसदहरु मात्र आआफ्नो सिटमा बसेका थिए । तर, सभामुख घिमिरेले विधेयकको विपक्षमा विरोधको मत नआएको भन्दै बहुमतले विधेयक फिर्ता लिएको घोषणा गरे ।असहमति जनाउने एकजना सांसदको मतको गणना गरिएन ।