काठमाडौँ- विपक्षी दलहरूको अवरोधका बीच सत्ता पक्षले संसद्बाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पास गराएको छ ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले नाराबाजीसहित वेल घेरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सदनमा निर्णयार्थ पेस गरेका हुन् । प्रतिपक्षी दलको नाराबाजी चलिरहे पनि सभामुख घिमिरेले धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएको सुनाएका हुन् । यसअघि जेठ १ गते नै प्रतिनिधिसभा बैठकमा राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद दिने कार्यसूची रहेको थियो ।
तर कांग्रेसले बैठक अवरुद्ध गरेपछि उक्त दिन सदनले धन्यवाद दिन सकेको थिएन सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरेको थियो ।