काठमाडौ -पारिवारिक कथामा फिल्म 'सानो संसार' निर्माण हुने भएको छ।
शुक्रबार कमलादी गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो। यसलाई 'चपली हाइट', 'फिटकिरी', 'फाटेको जुत्ता', 'द युगदेखि युगसम्म' का निर्माता अर्जुन कुमारले निर्माण गर्न लागेका हुन्। सिद्दार्थ पुडासैनीले फिल्मलाई निर्देशन गर्नेछन्।
यो फिल्ममा चर्चित हास्य कलाकार केदार घिमिरेकी श्रीमती सीतादेवी तिमिल्सिनाले शीर्ष भूमिकामा अभिनय गर्दैछिन्। यसअघि 'भद्रगोल', 'सक्किगोनि' सिरियलमा देखिएकी उनले फिल्म अभिनयमा डेब्यु गर्न लागेकी हुन् । 'सानो संसार' मा सीतादेवीसहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटी लगायतको अभिनय रहनेछ। फिल्मको शुभसाइत समारोहमा केदार घिमिरे पनि श्रीमतीलाई शुभकामना दिन पुगेका थिए। जेठ २५ गतेदेखि छायांकन सुरू हुने फिल्म काठमाडौंसहित नुवाकोट र धादिङमा समेत खिचिनेछ।
निर्देशक सिद्दार्थले सरिष्मा पुडासैनीसँग मिलेर फिल्मको कथा लेखेका हुन्। निर्माता अर्जुन कुमारका अनुसार फिल्मले सानो परिवारको कथावस्तु पेश गर्नेछ। उनले फिल्म स्टारले भन्दा कन्टेन्टले चल्ने भएकाले आफूले नयाँ कलाकारहरू लिएको बताए । आइरहेका भन्दा फरक खालको फिल्म बनाउने कोशिस आफ्नो रहने उनले बताए। आउँदो असोज १७ गते घटस्थापनाको अवसर पारेर फिल्मलाई प्रदर्शनमा ल्याइने जनाइएको छ।