काठमाडौं - यो साता सेयर बजारको परिसूचक नेप्से ११३ अंक अर्थात् ५.६ प्रतिशत बढ्यो ।
गत साता २०१८ अंकमा बन्द भएको बजार यो साता २१३१ अंकमा बन्द भयो । गत साता नेप्से २.६ प्रतिशत बढेको थियो । विगत दुई साता बजारले राम्रो लय समातेपछि लगानीकर्ता आशावादी बनेका छन् । बिहीबार सार्वजनिक विदा भएकाले कारोबार बन्द रह्यो । खुलेका चारै दिन बजार बढ्यो । पहिलो दिन आइतबार ४५.६९ अंक बढेको बजार सोमबार २७.५४, मंगलबार २३.९४ र बुधबार १५.५४ अंक बढ्यो ।
अंक मात्रै बढेको छैन, कारोबार रकम पनि हरेक दिन ५ अर्ब नाघेको छ । आइतबार ५ अर्ब २५ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब ८५ करोड, मंगलबार ५ अर्ब २० करोड र बुधबार ५ अर्ब ६८ करोडको कारोबार भयो । समूहगत रुपमा हेर्दा यो साता बैंकिङ सूचक सबैभन्दा धेरै १३.४ प्रतिशत बढ्यो । एक सातामै ‘हाइक्याप समूह’ बैंकिङ दोहोरो अंकको वृद्धिदर हुनुले समग्र बजारप्रति लगानीकर्ताको मनोभाव सकारात्मक बनाएको छ ।