सम्पन्न भयो धिरज मगर र उपासना सिंह ठकुरीको अभिनय रहेको चलचित्र 'खुस्मा'को छायांकन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०६ दिन अगाडि
सम्पन्न भयो धिरज मगर र उपासना सिंह ठकुरीको अभिनय रहेको चलचित्र 'खुस्मा'को छायांकन

काठमाडौं- अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको चलचित्र 'खुस्मा'को छायांकन सकिएको छ । पहिलो चरणमा मनाङमा छायांकन गरिएको चलचित्रको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको हो ।

निर्माण टिमले दिएको जानकारी अनुसार ४० दिनमा सिनेमाको एक गीत बाहेकको छायांकन प्याकअप भएको हो । चलचित्रमा समावेश एक गीतको छायांकन केही समयपछि गरिने छ । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय चलचित्र हो । 

चलचित्रका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन रहेको छ ।

चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । यो चलचित्रमाअसोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ ।

याे पनि हेर्नुहोस्