हिरासतमा रहेका कान्तिपुरका सञ्चालक सिरोहियाविरुद्ध सम्पत्ति शुद्धीकरणमा जाहेरी दर्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०८ दिन अगाडि
हिरासतमा रहेका कान्तिपुरका सञ्चालक सिरोहियाविरुद्ध सम्पत्ति शुद्धीकरणमा जाहेरी दर्ता

काठमाडौँ - कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहिया विरुद्ध सम्पत्ति शुद्धीकरणमा जाहेरी दर्ता भएको छ ।

आइतबार कान्तिपुरले आम्दानी बढी हुँदा राजस्व बढ्ने र आम्दानी कम हुँदा राजस्व घट्ने नेपाल सरकारको नीति विरुद्ध काम गरेको आरोप लगाउँदै उक्त जाहेरी दर्ता भएको हो । 

कान्तिपुर मिडियाका सञ्चालक सिरोहियाले आफ्नो आम्दानी बढी हुँदा पनि कम्पनी घाटामा देखाई राजस्व नतिर्ने गरेको तर सञ्चालकको सम्पत्ति अत्यधिक मात्रामा वृद्धि भएको देखिएको भन्दै उक्त जाहेरी परेको हो । 

जाहेर दर्ता गराउने व्यक्तिले सञ्चार माध्यमका आडमा ई सेवा, एफवान सफ्ट, चन्द्रागिरि हिल्स, हिमालय रि-इन्सुरेन्सलगायत कम्पनीको सेयर गैर कानुनी ढङ्गबाट हत्याएर सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाउँदै अनुसन्धान गरी कारबाहीको माग गर्दै सम्पत्ति शुद्धिकरणमा जाहेर दर्ता भएको हो।

दर्ता भएको जाहेरीमा लेखिएको छ

‘कान्तिपुर पब्लिकेशनले व्यवसाय सञ्चालन गरे वापत नेपाल सरकारलाई प्रचलित कानुनको अधिनमा रही राजस्व, कर, लाभकर, गैर कर, लगायतका राजस्वहरु कानुनले निर्धारण गरे ( बमोजिम बुझाउनै पर्छ । म कान्तिपुर पो हुँ, मैले जे गरे पनि हुन्छ, भन्ने मनोवृत्तिका साथ मनोमानी तरिकाले आफ्ना खुसमा गैर कानुनी काम गर्ने अधिकार निजहरूलाई छैन। आ.व. २०७४-०७५ मा कान्तिपुर पब्लिकेशन प्रा.लि. को करयोग्य आय ३१,९६,६७,२७६ रहेको देखाई सोको तिर्नुपर्ने राजस्व २५ प्रतिशतका दरले कर तिरेको देखिन्छ ।

आ.व. २०७५-०७६ मासमेत तिर्नुपर्ने कर नाफाको २५ प्रतिशत भएकाले ७५,९३,१३८ नोक्सान (घाटा) देखाइएको छ । जबकि सो समयमा कोभिडको सङ्क्रमण आ.व. ०७६÷०७७ को तुलनामा कम रहेको थियो । आ.व २०७६-०७७ मा समेत नाफाको २५ प्रतिशत राजस्व लाग्ने कानुनी व्यवस्था. भएका कारण १७,२७,८८,५१७ घाटा भएको कर विवरण पेस गरेको देखिन्छ ।

त्यसपछि आ.व. २०७७-०७८ मा आर्थिक ऐन को दफा २८ (४) मा होटेल, ट्राभल ट्रेकिङ पार्टी प्यालेस, ’सञ्चार गृहलाई अगाडीका आ.व.मा तिर्दै आएको २५ प्रतिशत करलाई १ प्रतिशत मात्र तिर्नुपर्ने कानुनी व्यवस्था भएपश्चात् सो ०७७-०८८ को आ.व.मा आ.व. २०७५-०७६ र २०७७-०७८ नोक्सान समेत पूर्ति गरी २४,१२,७३,२४६ कर योग्य आय (नाफा) देखाइएको छ ।

अर्थात् उक्त वर्षको आम्दानी २४,१२,७३,२४६ प्लस १७,२७,८८,५१७ प्लस ७५,९३,१३८ गरी जम्मा रु. ४२,१६,५४,९०१ देखाई १ प्रतिशतका दरले राजस्व २४,१२,७३२ तिरेको देखिन्छ । यसरी २५ प्रतिशत राजस्व हुँदा आम्दानी नोक्सानमा देखाउने १ प्रतिशत मात्र राजस्व हुँदा आम्दानी अरबको नजिक हुने क्रियालाई नाङ्गो आँखाले हेर्दा समेत सम्पत्ति सुद्ध करण गर्ने क्रिया भएको प्रस्ट छ ।’’

सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ )निवारण ऐन २०३४ को दफा ३० मा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्नेलाई सजाय ः दफा ३ को उपदफा १ मा उल्लेखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर गर्नेलाई बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भिर्यता हेरी दुई वर्ष देखि १० वर्ष सम्म कैद हुने व्यवस्था रहेको छ । जसका लागि ३ महिनासम्म अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था रहेको छ । यस्तै दफा ३ को उपदफा २ मा उल्लेखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर मध्ये षड्यन्त्र गर्ने व्यक्तिलाई उपदफा १ बमोजिम र अन्य कसुर गर्ने व्यक्तिलाई उपदफा १ मा उल्लेखित सजायको आधा सजाय हुने पनि कानुनी व्यवस्था रहेको छ ।

कैलाश सिरोहिया हाल नागरिकता सम्बन्धी कसुरमा पक्राउ परि हिरासतमा रहेका छन् । मंगलबार पक्राउ परेका उनी स्वास्थ्य समस्याका कारण शुक्रवार जनकपुरस्थित काब्या अस्पतालमा भर्ना भएका छन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।