समितिमा सहमति नभए कांग्रेसले अवरोध जारी राख्ने 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०७ दिन अगाडि
समितिमा सहमति नभए कांग्रेसले अवरोध जारी राख्ने 

काठमाडौं - संसदीय समिति गठनमा सहमति नभए प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा अवरोध जारी राख्ने भएको छ ।

कांग्रेसले अवरोध जारी राख्दा सरकारलाई बजेट प्रस्तुत गर्न बाधा पर्ने भएको छ ।पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सोमबार भएको पार्टी नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले आफ्नो अडान नछाड्ने बताए । 

सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग कांग्रेसको छ । यसमा सत्ता गठबन्धन सहमत छैन । त्यसैले समिति गठन र कार्यादेशका लागि पटक पटक भएका छलफल निष्कर्षविहीन हुँदै आएका छन् । 

बैठकपछि नेता महतले भने ‘छानबिन समितिको कार्यादेश तय गर्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख हुनुपर्ने हाम्रो अडान यथावत छ । नामै राख्न सत्तापक्ष तयार नहुने स्थितिमा भोलि पनि हाम्रो अवरोध जारी रहन्छ ।’

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१\८२ को बजेट प्रस्तुत गर्ने संसद्को कार्यसूची छ । त्यसका लागि दिउँसो १ बजे नै संसद् बैठक बोलाइएको छ ।  यसबीच कांग्रेस सभापति देउवाले मंगलबार विहान १० बजे संसदका विपक्षी दल र ११ बजे आफ्नो पार्टी संसदीय दलको बैठक बोलाएका छन् ।