संसार स्वार्थी छ, संसारमा स्वार्थ विक्दोरहेछ - अन्जु पन्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०२ दिन अगाडि
संसार स्वार्थी छ, संसारमा स्वार्थ विक्दोरहेछ - अन्जु पन्त

 काठमाडौँ -अन्जु पन्त चर्चित र व्यस्त गायिका हुन् ।भजनमा स्वर दिएर साङ्गीतिक क्षेत्रमा उदाएकी अन्जु ‘न बिर्से तिमीलाई’गीतबाट साङ्गीतिक क्षेत्रमा उकालो लागेकी हुन् ।

कुनै समय दैनिक सात वटासम्म गीत रेकर्ड गराउन दौडधुपमा रहने उनी पछिल्लो समय स्टेज कार्यक्रममा व्यस्त छिन् । व्यक्तिगत जीवनमा अनेक हन्डर ठक्कर खाँदै नेपाली सङ्गीतलाई नयाँ धारमा डोर्‍याउन सक्रिय अन्जु पछिल्लो समय नेपाल–अमेरिका बसाई लाई बराबर बनाइरहेकी छिन् । थिर कोइरालासँग दोस्रो विवाह गरेपछि नेपाल–अमेरिका ओहोरदोहोर गरिरहनुपर्ने बाध्यताका कारण उनले धेरै शुभेच्छुकहरूबाट ‘अब अमेरिका भासिने हो ?’ भन्ने प्रश्नको सामना गरिरहनुपरेको छ । यसै सन्दर्भमा उनको पछिल्ला दैनिकीबारे कुराकानी -
तपाईँ कता र के काममा व्यस्त हुनुहुन्छ ?
धेरैले मेरो व्यस्तताका बारेमा सोधिरहनु भएको छ । वास्तवमा म यति बेला विगतका दिनहरूभन्दा थप व्यस्त भएको छु । व्यस्तता घट्दो होइन बढ्दो छ । मेरो बानी मिडियामा गइहाल्ने, बोली हाल्ने किसिमको छैन । त्यही भएर व्यस्तताका बारेमा प्रश्नहरूको सामना गरिरहेको छु । तर सामाजिक सञ्जालका पेजहरूमार्फत मसँग जोडिनुहुने श्रोता दर्शकहरूले मेरोबारे अपडेट हुनुहुन्छ । यति बेला मैले दिनमै तीन चार वटा गीत रेकर्ड गराइरहनुपरेको छ । कार्यक्रमहरूमा पनि व्यस्त हुनु परेको छ । पाँच महिना यता नेपालमै बसेर काम गिरहेको छु । तपाईँसँग भेट हुनुअघि(सोमबार) आजै मात्र पनि तीन चार वटा कार्यक्रममा थिएँ । आजभोलि नै तीन वटा गीतको रेकर्डिङ छ । दिनदिनै यस्तै व्यस्तता छ । 
धेरे शुभेच्छुकहरूको मुखबाट तपाईँका बारेमा एउटा सवाल गज्जबले उठिरहेको छ –‘अन्जु पन्त अब नेपाल आउनु भनेको माइत आउनु सरह हो ।’ वास्तवमा यस्तै भइरहेको हो ? अमेरिका बसाई बाक्लिएको हो ?
त्यस्तो होइन । अमेरिका वर्षमा एक पटक कार्यक्रम हुँदा जानपर्छ । मेरो पारिवारिक बाध्यता पनि छ । तर अहिले जति पनि कुराहरू आइरहेका छन्, म नेपाल आएको चाहिँ थाहा नै नभएको जस्तो गर्नुहुन्छ । मैले सामाजिक सञ्जालमा कत्ति धेरै स्ट्याटस लेखिरहेको हुन्छु । जानकारी गराइरहेको हुन्छु । गीत रेकर्डबारे भनिरहेको हुन्छु । लाइभ गरिरहेको हुन्छु । धेरै ठाउँमा कार्यक्रमका विषयमा भनिरहेको हुन्छु र पनि खाली अमेरिकामा बसिरहेको छ, अमेरिका भासियो भन्ने कुराले खुबै पीडा दिइरहेको छ । नेपाली माटो र नेपाली मनहरूबाट टाढा हुन सकिँदैन । जहाँ रहे पनि नेपाली सङ्गीतबाट टाढा हुन सकिँदैन । सङ्गीत भनेको मेरो जीवन हो । 
अहिले स्टेज कार्यक्रम तथा अन्य कार्यक्रमहरूको सिजन नै चलिरहेको छ । तर तपाईँलाई अलिक कम मात्र देख्न पाइन्छ । त्यस्तो केही कारण छ ?
साङ्गीतिक यात्राको कुरा गर्दा म नेपालका कार्यक्रममा उत्तिकै व्यस्त छु । केही समय अघि पूर्वदेखि पश्चिमसम्मका कार्यक्रममा व्यस्त थिए । भर्खरै पनि जापान पुगेर आएँ । हेटौडा, चितवन, बुटवल, दाङ नेपालगन्जलगायतका ठाउँहरूमा पुगेर आएँ । तर अहिले २४ घण्टा आफ्ना बारेमा जानकारी गराउनुपर्ने हो कि ? यस्तो खाएँ, उस्तो लाएँ भनेर जानकारी गराउनुपर्ने हो कि । जमाना नै त्यस्तै आएको हो कि ? किन मान्छेलाई थाहा नभएको होला । म चकित छु ।

हिजोआजको माहौल परिवर्तन भएको छ । असल किसिमले र असल सर्जकहरूलाई असल गीतहरूले भन्दा पनि भाइरलको जमाना आएकाले यस्तो भइरहेको छ, म अचम्ममा परेको छु । मानिसहरूले बुझ्नुपर्ने कुरा के छ भने भाइरल गीतहरू परालको आगो जस्तो हो । यही भनेर बुझाउनुपर्ने परिस्थिति आयो । यस्ता गीतहरू क्षणभरमै जल्छ एक छिनमा सेलाउँछ । जल्छ जल्न त तर दाउराले जस्तो रात भरी जल्दा पनि आनन्दको ताप दिँदैन । दाउराको जमाना त गएको होइन होला । फेरि आउँछ त्यो जमाना । मेरो विषयमा कुरा गर्नुहुन्छ भने हिजो मात्र चार वटा गीत रिलिज भयो । त्यसअघि पनि गीतहरू रिलिज भएका छन् । तर यूट्बमा बुष्ट नगरी नहुने जमाना आयो । त्यस्तो हामीले सक्दैनौँ ।

मेरो हकमा कुरा गर्नुहुन्छ भने म गीत मात्र गाउँछु । प्रमोसनमा धेरै गर्न सक्दिन । गीत रेकर्ड भएकै छन्, रिलिज भएकै छन् तर भाइरल नभएर चर्चा नभएको भन्ने कुरामा चाहिँ विश्वास लाग्दैन । चलचित्रका गीतहरूमा पनि उत्तिकै स्वर दिइरहेको छु । तर सिधा भन्नुपर्दा धेरै नखरेवाज गर्नुपर्ने जमाना आयो । 

यति बेलाको अवस्थालाई हेर्दा कला क्षेत्रका व्यक्तिहरू सामाजिक सञ्जाल वा अन्य डिजिटल प्लेटफर्महरूमार्फत उश्रृखंल क्रियाकलाप गरेर भाइरल हुने होड चलिरहेको देखिन्छ । जसका कारण सदाबहार र स्थापित कलाकारहरू चाहिँ विस्थापित हुने अवस्था आएको हो कि जस्तो लाग्दैन ?

एक हिसाबले सोच्दा त भाइरल हुनुपछि राम्रै हो । भाइरल भएपछि राम्रो चिजको महत्त्व हुन्छ । त्यसैले भाइरल हुनु राम्रै हो । यसलाई नकारात्मक रूपमा पनि लिन हुँदैन । तर मिडिया प्लेटफर्महरू बढेसँगै राम्रो आवाज, अभिनय र नृत्यमार्फत कलाकारले पनि ठाउँ पाउन थालेका छन् । यसलाई राम्रो पक्ष मान्नुपर्छ । तर नराम्रो पक्ष भनेको चाहिँ भाइरलका पछाडि दौडिदा असल र सृजनात्मक कामहरू ओझेल पर्नु हुँदैन । जसका कारण दिग्गज सर्जकहरूलाई धक्का परिरहेको छ कि भन्ने कुरा मनन गर्नुपर्छ । भोलि गएर पर्ने असरका बारेमा बुझ्नपर्छ । नेपाली कला क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा जानुपर्नेमा झन् झन् खस्किँदै जाने हो कि भन्ने चिन्ता छ । त्यसैले नेपाली गीत सङ्गीत र कलाको महत्त्व बुझेका हामी श्रोता–सर्जकहरू सबै सजक हुनुपर्छ कि भन्ने लाग्छ ।

तपाई सङ्गीत कर्मसँगै सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । अन्जु पन्त फाउन्डेसन पनि स्थापना गर्नुभएको छ । फाउन्डेसनको भूमिका कस्तो छ ?
अन्जु पन्त फाउन्डेसनले बच्चाहरूको पढाइको लागि र पश्चिम नेपालमा एचआइभी एड्सबाट पीडित हुनुभएको परिवारलाई सहयोग गरिरहेको छ । श्रम क्षेत्रहरूमा पढाइको खर्च, लत्ता कपडा, कम्प्युटर सहयोग स्वरूप जुटाउने गर्छौँ । एक हप्ताको प्याकेज लिएर केही समयअघि मात्र फिल्डमा गएका थियौँ । धेरै हल्ला गर्ने र देखाउने बानी छैन मेरो ।
साङ्गीतिक यात्रासँगै सामाजिक कार्यमा लागिरहँदा सरकारबाट केही सहयोग प्राप्त गर्नुभएको छ ?
केही सहयोग पाएको छैन । मैले पहिला पनि आफ्नै खुसीले आफूले गीत गाएको पैसाले धेरै ठाउँमा सहयोग गरेको हो । त्यही हृद्यलाई देखेर मेरो श्रीमानले संस्था स्थापना गर्नुपर्छ भनेर हौसला दिनुभयो । एउटा हातले दिँदा समस्या हुन्छ, कयौँ हातहरूले सहयोग गर्नुपर्छ, पाउनेले पनि धेरै पाउनुहुन्छ भनेर काम सुरु गरेको हुँ । तर पछिल्लो समय फाउन्डेसन नकारात्मक कुराहरू आउन थाले । फाउन्डेसन खोलेर करोडौँ कमायो भन्ने कुराहरू आयो । गल्ती केही गरेको छैन तर अनावश्यक आरोपहरू आउने रहेछ । सङ्कलित पैसाले नपुगेर आफ्नै खल्तीबाट हाल्नुपर्ने अवस्था आउँछ । संस्था भनेको म नगएको बाटो रहेछ । यसमा धेरै प्रक्रिया हुँदो रहेछ । आफ्नो खुसीले हृद्यले हातले दिएको मात्र हो ।
त्यसो भए समाजसेवामा कसरी, को बाट प्रेरित हुनुभएको हो त ?
समाजसेवी बन्नुपर्छ भन्ने मेरो सानदेखिको बानी हो । सोच हो । स्कुल पढ्दा पढ्दै पनि दुःख पाएका बच्चाहरूका लागि, साग बेचेर दुःख गरिरहनु भएका आमाहरूका लागि सहयोग गर्थेँ । उहाँहरूलाई मैले आफ्नो खाजा कटौती गरेर र पैसा जुटाएर सहयोग गर्ने बानी थियो । तर संस्थागत कुराको मेसो मैले पाइन । यति कुरा हो चोखो हृदयले सहयोग गर्न पाए हुन्थ्यो भन्ने मात्र लाग्छ । 
समाजसेवाको दायरा बढाउनुपर्छ । सरकारको पनि सहयोग लिएर काम गर्नुपर्छ भन्ने सोच आएको छैन ?
साँचो कुरा गर्दा केही मानिसको नजरमा अन्जु पन्त स्वार्थी जस्तो देखिएला । तर त्यस्तो होइन । किनभने म गीत गाउँछु । सिधा हिसाब हुन्छ मेरो । गीत गाएको पारिश्रमिक लिन्छु । यही पारिश्रमिक बचाएर काम गर्न मन लाग्छ । पारिश्रमिक घटाउन कतिपय उच्च पदकै प्रियजनहरूले पनि भन्नुहुन्छ । तपाईँको फाउन्डेसन छ, सहयोग गरौँला भन्नुहुन्छ । तर सहयोग माग्दा दिनुहुन्न । त्यस्तो घटना धेरै भोगियो । किनकि यो संसार स्वार्थी छ । यो संसारमा स्वार्थ बिक्छ । त्यस कारणले गर्दा कसैलाई भन्न पनि मन लाग्दैन । 
गीतहरूको प्रचार प्रसार गर्दा धेरै फँडा गर्न आउँदैन । फन्डा गर्ने जमानाको मान्छे परिन । त्यसैले सहयोगका लागि धेरै कसरत गर्दिन । धेरै समय लिएर गुरुजनहरुको आशीर्वाद लिँदै अगाडि बढेको मान्छे हुँ । पुराना दिनहरूको खुबै मिस गर्छु हिजोआज । अहिले जमाना अर्कै आइसक्यो । एकले अर्काको मतलब नै गर्दैन । यस्तो अवस्थामा आउँदा भने सुन्ने सुनाउने पुरानो माहौल अहिले याद आउँछ । आधुनिक मानिसको जस्तो स्वभाव छैन मेरो । तर यति धेरै काम गरिरहेको छु, कामै भएन कि जस्तो लाग्छ । भाइरल भयो भने मात्र चर्चा हुनुपर्ने जमानाको परिन । 
तपाईँले गाउनु भएका गीतहरू प्राय तपाईँकै जीवनसँग मेल खान गएको जस्तो लाग्छ । वास्तवमा त्यस्तै हो ? 
 कतिपय गीतले मेरो जीवनसँग मेल खाएको छ । पहिलाका गीतहरू आउँदा मेरो जीवन त्यस्तै भयो । सबैलाई थाहा नै छ । रोमान्टिक गीतहरू आए रोमान्टिक हुँदै गइयो । अहिले नाच्ने गीतहरू आए, जीवन पनि त्यस्तै अघि बढिरहेको छ ।


सङ्गीत क्षेत्रमा तपाईँले काम गरेको दशक बितिसक्यो । हरेक गीतहरू हरेक नेपालीका मुखमा झुन्डिएका छन् । हजुरलाई चाहिँ कुन गीतले अलिक बढी छुन्छ ?
‘यस्तो एउटा कथा रहेछ, संसारमा माया पनि .....’ यो गीतले धेरै छोयो । त्यसपछि एल्बमहरू पनि आए ‘वनमा फुल्यो फूलै फूल’, ‘वसन्त नै बस्न खोज्छ’, ‘म प्यार बेचिदिन्छु’, ‘उकालीमा पनि हजुर’ यस्तै यस्तै गीतहरू थिए । ती गीतहरूले पनि मलाई सङ्गीत उद्योगमा चिनाउन मद्दत पुग्यो । अन्जु पन्त इन्डियन गायिका हो भन्नुहुन्थ्यो त्यो बेला सबैले । त्यसपछि धेरै चलचित्रहरूमा आए गीतहरू– न बिर्सिए तिमीलाई । गजलले नामसहित मान्छेसहित फ्रेममा ल्याइदियो विश्वभर नै । त्यसले गजलको विधाका रूपमा कोशे ढुङ्गा साबित भयो । त्यसपछि न बिर्सिए तिमीलाई र  अन्जु पन्त परिपूरक भए । 
तपाईँको पूर्व श्रीमानसँग पनि लामो समयसम्म साङ्गीतिक सहकार्य भयो । अहिले भेट हुन्छ कि हुँदैन ? अहिलेको पारिवारिक सम्बन्ध कस्तो छ ?

पूर्व श्रीमानसँग भेट हुँदैन । धेरै वर्ष भयो भेट नभएको । र अहिले मेरो जीवनमा नसोचेको कुराहरू भयो । विवाह भन्ने ठिक होइन भन्ने कुरालाई गलत साबित थिर कोइरालाले गर्नु भएको छ । उहाँको  हृदयभरीको मायाले मलाई परिवर्तन गरायो । उहाँलाई म पलपल सम्झिन्छु । 

अहिले हामी छोरी, छोरा र म सँगै बस्छौ । मेरो बच्चाहरू सारै मिलेका छन् । ज्ञानी र सहयोगी पनि छन् । मेरो जीवनमा एउटा आशीर्वाद हो । नसोचेको कुरा भएको छ । मेरो छोरी अहिले मण्डला थिएटरमा अभिनय सिक्दै छिन् । धेरै राम्रो ब्यानरबाट फिल्मको अफर आए पनि गरेकी छैन । फिल्म त सिकेर मात्र गर्छु भनेर सिकिरहेकी छिन् । उसको मेहनत, लगनशीलता र धैर्यता सबै कुराले लाग्छ भोलि राम्रै हुन्छ भन्ने लाग्छ । भएन भने पनि सिक्दै गर्दा केही फरक परेन । भोलि गएर जे बन्छिन् । मेरो तर्फबाट जहिले पनि आर्सीवाद छ, माया छ ।  

सङ्गीत क्षेत्रमा तपाईँको योगदान त छँदै छ तर सरकारले पनि केही गरोस् जस्तो लाग्दैन ? 
सरकारप्रतिका बारेमा मैले पहिले पनि भनिसकेँ । नेपाल सानो देश हो, थोरै परिवार छन् । तर खुसी र सुखी हुनुपर्ने सबै उल्टो भइरहेको छ । एयरपोर्टमा पुग्दा पनि कस्तो नमज्जा लाग्छ, पीडा हुन्छ । पढाइमा ए प्लस ल्याउँदा पनि किन त्यसको मूल्याङ्कन हुँदैन ? प्रमाण पत्र, सम्मान पत्र दिएर मात्र हुँदैन नि । कलाकारहरू भनेको देशको सम्पत्ति हो । सम्पत्ति बाहिर जानु, लोभ हुनु राम्रो होइन् । त्यसलाई जोगाउन जान्नुपर्छ । 
एउटा गीतको कति पारिश्रमिक लिनुहुन्छ ? भन्न मिल्छ । 
कतिपय ठाउँमा मलाई पछिल्लो समयमा एउटा आरोप आइलाग्यो । अन्जु पन्तले एकलख, डेढ लाख लियो, पैसा खाइदियो भनियो । तर मलाई सीमित पैसा मात्र आउँछ । कति गीत त निःशुल्क पनि गरिदिएको छु । तर निःशुल्क गर्‍यो भने त्यस्तै बानी बस्ने र अन्य कलाकारलाई असर गर्ने रहेछ । बोली, विचार, व्यवहार र व्यावसायिकतामा अलिकति कडा हुनपर्छ । हामीले हाम्रो गुणस्तर र मर्यादा राख्नुपर्छ ।  जुन स्थानमा म आज छु त्यसको आदर पनि गर्नुपर्छ । वास्तवमा मैले लिने पारिश्रमिक भनेको ५० हजार रुपैयाँको हाराहारी हो ।
नेपाली साङ्गीतिक क्षेत्रमा धेरै कलाकारहरू आइरहेका छन् । उहाँहरूलाई के भन्न चाहनुहुन्छ ?
नव कलाकारहरूलाई मेरो धेरै माया र आशीर्वाद छ । उनीहरू मेरा छोराछोरी सरह नै हुन् । कतिपयले धेरै प्रगति पनि गरिरहनु भएको छ । अहिले कस्तो राम्रो समय पनि आयो किनभने आफ्नो हातमा नै मिडिया छ । कसैले केही नगरे पनि केही छैन भन्ने समय छ । साँच्चिकै क्षमता भएको आवाजहरूलाई र व्यक्तिहरूका लागि असल दिन पनि छ । धेरै शुभकामना । अझ मेहनत गरेर यो देशको नाम राख्न आग्रह गर्दछु ।