प्रकाशकीय - भिडिओसहित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०६ दिन अगाडि
प्रकाशकीय - भिडिओसहित

सूचना तथा प्रविधिमा भएको तीव्र विकासका कारण नेपाली मिडियाको आयामबारे विभिन्न ढङ्गले बहस भइरहेको छ। सोसल मिडिया (सामाजिक सञ्जाल)ले मिडियामाथि सशक्त हस्तक्षेप गरेको छ। सहज पहुँचका कारण सूचनाका धेरै विषय पाठकसम्म पुर्याउन सामाजिक सञ्जालको भूमिका महत्त्वपूर्ण छ। सामाजिक सञ्जालका सबै प्रयोगकर्ताले  समाचार सामग्री उत्पादन गर्दैनन्। तर गलत सूचनाको सिकार हुने जोखिम सधैँ रहने भएकाले त्यसको प्रभाव न्यूनीकरण गर्न सञ्चारमाध्यम र सरोकारवालाहरूमा रहेको चुनौतीलाई आत्मसात् गर्दै प्रभावकारी हस्तक्षेप गर्न नेपाल विशेषले आफ्नो स्थानबाट सशक्त भूमिका खेल्नेछ। 

समाचार पढ्नका लागि कागजका पन्ना नै पल्टाउनुपर्ने बाध्यता अब पाठकलाई छैन। समाचार पठनीय मात्र भएर पुग्दैन, दर्शनीय र श्रवणीय पनि हुनुपर्छ भन्ने मान्यता बलियो बनिसकेको छ। परम्परागत रेडियो र टेलिभिजनजस्तो अरूले तोकिदिएको समयमा मात्र समाचार ग्रहण गर्नुपर्ने बाध्यता पनि पाठकलाई छैन। समाचारका क्षेत्रमा आएको यो विश्वव्यापी ट्रेन्ड अनुसार नेपाली समाचारका उपभोक्ता अभ्यस्त भइसक्दा पनि उत्पादक सञ्चार संस्था र सञ्चारकर्मीले यसलाई आत्मसात् गर्न ढिला गरिरहेको प्रतीत हामीलाई भएको छ। समाचार उपभोक्ताको आवश्यकता र उत्पादकबिच सेतुको काम गर्न मल्टिमिडियाका सामग्रीलाई विशेष प्राथमिकतामा राखेर डिलाइट कृएशन प्रालिले औपचारिक रूपमा समाचारमूलक पोर्टल नेपाल विशेष सुरु गरेको हो।

सामाजिक चासोका विषय हाम्रा सरोकारहरू हुन्। सूचना तथा प्रविधि, कला साहित्य, मनोरञ्जन, खेलकुद र अर्थराजनीति क्षेत्रका गतिविधि पाठकहरूलाई अधिकतम सुविधा हुने गरी पस्कने छौँ। विकासका माध्यम दिगो हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता आत्मसात् गर्दै मानवीय मूल्यमान्यताका साथ निष्पक्ष र स्वतन्त्र पत्रकारिताका सिद्धान्तप्रति हामी अटल रहेर समाज रूपान्तरणमा योगदान गर्ने विश्वास समेत व्यक्त गर्दछौँ।

नेपालको संविधानले प्रत्याभूत गरेका लोकतन्त्रका मान्यताहरू हाम्रा सम्पादकीय सिद्धान्त हुन्। कानुनले निर्दिष्ट गरेको सकारात्मक विभेदबाहेकका सबै प्रकारका विभेदविरुद्ध आवाज उठाउनु हाम्रो मूलभूत मान्यता हो। यसका साथै अनियमितता, अपचलन र नैतिकताका विषयमा हामी नजर राख्नेछौँ। विधिको शासन र स्वस्थ प्रतिस्पर्धालाई प्रश्रय गर्ने सम्पादकीय नीति अवलम्बन गरिनेछ।