काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् ।
आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा नै उल्लेख्य सुधारका कामदेखि आत्तिएर विभिन्न स्वार्थ समूहले आफ्नो चरित्रहत्या गर्न र मन्त्रालयको गरिमामा आँच आउने काम गरेको गुनासो गरे ।आफूलाई बदनाम गरी राजनीतिक अभीष्ट पूरा गर्न श्रम मन्त्री, श्रम मन्त्रीको सचिवालय, मन्त्रालयका कर्मचारी, मन्त्रीका आफन्त र साथीभाइलाई जोडेर भ्रम फैलाउने प्रयास भइरहेकाले त्यस्ता कुनै हल्लामा विश्वास नगर्न मन्त्री अर्यालको आग्रह छ ।
मन्त्रालयले गर्ने हरेक क्रियाकलाप मन्त्रालयले नै सार्वजनिक गर्ने भएकाले असम्बन्धित व्यक्तिबाट फैलाइएका कुनै निराधार हल्लामा विश्वास नगर्न उनले आग्रह गरेका हुन् । ‘हामीले गोप्य रूपमा कुनै निर्णय गर्दैनौँ । कुनै पनि मुलुकसँग रोजगारी सम्झौता गरेमा वा बन्द गर्नु परेमा पनि सार्वजनिक रूपमा नै सूचना जारी गर्छौँ । त्यसैले कसैले फैलाएको भ्रममा नपर्न आग्रह गर्छु,’ उनले भने ।
रोजगारीको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउने, आन्तरिक रोजगारी र स्वरोजगारीलाई प्रवर्द्धन गर्ने काममा मन्त्रालय लागि परेको उनको भनाई छ । मन्त्री वा मन्त्रालयसँग सम्बन्धित व्यक्ति वा संस्था वा निकायले ठगी गरेको शङ्का लागे मन्त्रालयको सचिवालय, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय वा श्रम धान कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ मा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।