काठमाडौँ - सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व सङ्कलन हुने संशोधित अनुमान गरेको छ ।
मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लक्षअनुसार यो वर्ष राजस्व सङ्कलन नहुने बताएका हुन् । उनले लक्ष्यको तुलनामा ८८.१ प्रतिशत मात्र राजस्व सङ्कलन हुने बताएका छन् ।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । आर्थिक शिथिलताका कारण यो वर्ष लक्ष अनुसार राजस्व सङ्कलन गर्न नसकेको अर्थमन्त्री पुनले स्पष्ट गरे ।