‘कृषिमा लगानी दशक’ घोषणा, उत्पादन वृद्धि गर्न ७ अर्ब

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०६ दिन अगाडि
‘कृषिमा लगानी दशक’ घोषणा, उत्पादन वृद्धि गर्न ७ अर्ब

काठमाडौँ -सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ ।

आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भूगोल, बजार सम्भाव्यता, कृषि उपजका आधारमा कृषिमा लगानीका लागि विशेष क्षेत्र घोषणा गरिने बताए ।कृषि उपज प्रशोधन र निर्यात गर्नेलाई उत्पादित उपजका आधारमा कर्जामा ब्याज अनुदान र मल, बिउ प्रदान गरिने उल्लेख गरेका पुनले सरकार, किसान र व्यवसायी मिलेर करार खेती प्रवर्द्धन गरिने जनाए । 

‘बाँझो जमिन स्थानीय तहमा अभिलेख गरी मत्स्यपालन, घाँसे बाली, फलफूल, जडीबुटी, पशुपालनमा उपयोग गर्ने व्यवस्था मिलाइने छ,’ बजेट प्रस्तुत गर्दै पुनले भने । हिमाल र पहाडमा ५० रोपनी तथा तराईमा १० बिघाभन्दा बढी जग्गामा एकीकरण र बन्दाबन्दी गरी व्यावसायिक खेती, पशुपालन गर्नेलाई मेसिनरत तथा पार्टपुर्जा खरिदमा कर छुट तथा कर्जामा ब्याज अनुदान दिइने समेत बजेटमा उल्लेख गरिएको छ । यस्तै सरकारले सामूहिक खेतीका लागि लिजमा जग्गा दिने व्यवस्था मिलाइने समेत जनाएको छ । 

अर्थमन्त्री पुनले भने, ‘कृषिमा आधारित उद्योगको विकास र विस्तारका लागि उत्पादनलाई रोजगारीसँग आबद्ध गराउन साझेदारी कार्यक्रम सञ्चालन गरिने, सङ्घ, प्रदेश र स्थानीय तह, निजी क्षेत्र, सहकारी तथा समुदायको साझेदारीमा सञ्चालन गरिने उक्त कार्यक्रम मार्फत कृर्षिमा उत्पादकत्व वृद्धि गर्ने, कृषिमा आधारित उद्योगको विकास र विस्तार गर्न, ग्रामीण पर्यटन प्रवर्द्धन गर्न तथा सूचना प्रविधिमा आधारित उद्यम स्थापना गर्न र सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । जसका लागि सात अर्ब विनियोजन गरेको छु ।’ प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममार्फत स्वदेशी उत्पादन प्रोत्साहन गर्ने बजेटमा उल्लेख छ ।