स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०२ दिन अगाडि
स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन

काठमाडौँ - सरकारले स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन सरकारले बजेटमार्फत १५ अर्ब रुपैयाँ छुटाएको छ ।  अर्थमन्त्री वर्षमान पुनले भने, ‘स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि, उपकरण र दक्ष जनशक्तिको उपलब्धता सुनिश्चित गरिने, निर्माण सम्पन्न भएका पाँच, दश र पन्ध्र शैयाका आधारभूत अस्पतालहरु विधि तय गरी सञ्चालन गरिने, निर्माणाधीन अस्पतालहरूको निर्माण कार्य पूरा गरिने छ । यसका लागि १५ अर्ब ४१ करोड विनियोजन गरेको छु ।’ 

यस्तै विपन्न नागरिकलाई मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, ई स्पाइनल इन्ज्युरी तथा हेड इन्ज्युरी, सिक सेल जस्ता रोगमा सौलियतका लागि सरकारले प्रति बिरामीले १ लाख रुपैयाँ पाउने गरी बजेटको व्यवस्था गरेको छ । जसका लागि सरकारले ३ अर्ब विनियोजन गरेको अर्थमन्त्री पुनले बताए ।   

आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट उपलब्ध गराउँदै आएको ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउन, खोप र प्रजनन स्वास्थ्यका लागि अवश्य सामग्रीका लागि १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको समेत वक्तव्यमा उल्लेख छ ।  मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट उपलब्ध गराउँदै आएको ९८ प्रकारका औषधी तथा खोप र निःशुल्क उपलब्ध गराउन, खोप र प्रजनन स्वास्थ्यका सम्बन्धी आवश्यक सामग्री निःशुल्क उपलब्ध गराउन १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको छु ।’