काठमाडौँ -नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारी परिवारसहित आइसिसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् ।
क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन् । उनीहरू मङ्गलवार अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष चन्द त आइसिसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन् । विश्वकप खेल्ने टिमका लागि आइसिसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसले गर्दा उनीहरू बिजनेस क्लासमा यात्रा गर्छन् भने अमेरिका बसाइँको खर्च पनि आइसिसीले नै व्यहोर्ने गर्छ ।
आइसीसले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलब्ध गराएको थियो । क्यानकै सदस्य दिवाकर घले टिम लिडरको रूपमा रहेका छन् । नेपाली टिम झन्डै १ महिना अघि गए पनि घले भने गत साता मात्रै अमेरिका प्रस्थान गरेका थिए । यस्तै, अर्का केन्द्रीय सदस्य प्रदीप मजगैंया म्यानेजरको भूमिकामा रहेर टिमसँगै गइसकेका छन् । अध्यक्ष चन्द नेपाली काँग्रेसका बैतडी सभापति पनि हुन्। उनले काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई पनि विश्वकपका लागि अमेरिका लगेको सामाजिक सञ्जालबाट प्रस्ट हुन्छ । सचिवसहित अन्य केन्द्रीय सदस्यहरू पनि केही दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा छन् ।
विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का अन्य व्यक्तिहरू पनि जाने तयारीमा रहेको बुझिएको छ ।तर, नेपाली क्रिकेट टिमलाई विश्वकपमा पु¥याएका सन्दीप लामिछानेको भने भिसा नपाउँदा अमेरिका जाने प्रक्रिया अन्यौंल मा छ । लामिछानेको विश्वकप खेल्ने अन्यौंल भएका बेला क्यानका पदाधिकारीह रु श्रीमतीसहित अमेरिका गएपछि सामाजिक सञ्जालमा क्यानको आलोचना भएको छ ।
यसअघि सन्दीपको भिसा २०२५ सम्म रहेकोमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि भिसा रद्द भएको जानकारी गराइएको थियो । त्यसपछि नयाँ प्रक्रिया सुरु गर्दा अमेरिकी दूतावासले उनको भिसा रिजेक्ट गरेको थियो । यसबिचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन । जसका कारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको उनी निकट स्रोतले जनाएको छ । भिसाको विषयमा उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग कुरा गर्न जाँदा मन्त्रीले घुमाउरो तरिकाले आफूले नसक्ने जनाउ दिइसकेका छन् ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भिसाको लागि प्रयास जारी राखिएको जवाफ सन्दीप निकट स्रोतलाई दिए पनि आज दिनभरिमा सकारात्मक परिणाम नआए सन्दीपले विश्वकप खेल्न नपाउने निश्चित जस्तै छ ।