अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट लाक्पा सम्मानित, तेन्जिङ हिलारी पुरस्कार ४ जनालाई 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०५ दिन अगाडि
अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट लाक्पा सम्मानित, तेन्जिङ हिलारी पुरस्कार ४ जनालाई 

काठमाडौँ - सरकारले अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार २०२४बाट लाक्पा सोनाम शेर्पालाई सम्मानित गरेको छ । 

७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज काठमाडौँमा आयोजित विशेष कार्यक्रममा यति एयरलाइन्स तथा थामसेर्कु ट्रेकिङका संस्थापक सोनामलाई प्रदान गरिएको हो ।शेर्पालाई पाँच दशकदेखि पर्यटन व्यवसाय क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप सरकारले उक्त सम्मानबाट शेर्पालाई सम्मानित गरेको पुरस्कार छनोट तथा सिफारिस समितिले जनाएको छ । प्रख्यात पर्यटन व्यवसायी तथा सेभेन समिट आरोहण गर्ने पहिलो नेपाली आरोही लाक्पा सोनाम शेपाले पाँच दशकदेखि नेपालको पर्वतीय पर्यटनको विकास, विस्तारमा र २५ वर्ष देखी एयरलाइन्स तथा होटेल व्यवसायबाट आन्तरिक रोजगारी सिर्जना गर्नुका साथै नेपालमा विदेशी पर्यटक भित्र्याउन कार्य गर्दै आइरहेका भन्दै सरकारले सो सम्मान दिएको हो ।

 

सोनामलाई पुरस्कार प्रदान गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आरोहीको हक हितको संरक्षण गर्न सरकारले अर्थ मन्त्रालयमार्फत एक रुपैयाँको कल्याणकारी कोष बनाउने घोषणा गरे । अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट सम्मानित भएका शेर्पाले प्रधानमन्त्रीको घोषणाको स्वागत गरे । उनले  आफूले पुरस्कारमा पाएको १ लाख रुपैयाँमा थप एक लाख रुपैयाँ थपेर २ लाख रुपैयाँ आरोही कल्याणकारी कोषमा दिने बताए । यस्तै,  तेन्जिङ हिलारी पुरस्कार २०२४ बाट चार जना सम्मानित भएका छन् । उक्त पुरस्कार दोलखाका पेमा छिरिङ शेर्पा, बर्दियाका महासेनानी सुनिल सिंह, सोलुखुम्बुका आङछिरी शेर्पा र सोलुखुम्बुकै एकल महिला सगरमाथा आरोहण दल, २०१९ लाई प्रदान गरिएको हो । 

२३ पटक सगरमाथा र १० पटक मनासलु हिमालको सफल आरोहण गरेका शेर्पालाई दर्जनौँ हिमाल आरोहण गरी ट्रेकिङ तथा माउन्टेन गाइडको रूपमा २३ वर्षदेखि  पर्वतीय पर्यटनमा पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरिएको समितिले जनाएको छ । यस्तै, सिंहले सन् १९९९ बाट पर्वतीय पर्वतारोहण कार्यको सुरु गराएको, नेपाली सेनाको अधिकृत स्तरबाट सगरमाथाको सफल आरोहण गरेको, सन् २००८ मा बेइजिङ ओलम्पिकको टर्च सगरमाथा शिखरमा लागि खेल उद्घाटन गर्ने कार्यको पूर्ण सुरक्षाको नेतृत्व गरी नेपाल सरकारको तर्फबाट सम्पूर्ण आरोहण दललाई आरोहणको लागि सहजिकरण गर्न सफल भए थिए । सन् २०१३ मा नेपाल भारत संयुक्त सगरमाथा आरोहण दलको नेतृत्व गरी आरोहण सफल पारेका सिंहले सन् २०१९ देखि सगरमाथा सफाई अभियानको सल्लाहकारको रूपमा काम गर्दै आएका छन् ।  एकल महिला आरोहण दलमा आवद्ध भई फुर दिकी शेर्पा र निम डोमा शेर्पाले  सगरमाथाको सफल आरोहण गरेको प्रशंसा गर्दै सरकारले आरोहण दललाई सम्मान गरेको हो ।  ७ महादेशका अग्ला हिमालहरु आरोहण गरेकी आङछिरी शेर्पालाई सेभेन समटि फाउन्डेसनसंस्था स्थापना गरी आरोहण क्षेत्र र पर्वतीय पर्यटनमा विशिष्टि योगदान पुर्याएको भन्दै तेन्जिङ हिलारी प्रदान गरेको हो । यस्तै, इतिहास शिरोमणि बाबुराम आचार्यले सगरमाथाको नेपाली नामकरण गर्ने सम्बन्धमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उनको कदरमा आचार्यकै नाममा ७५,०००| राशिको पुरस्कार स्थापना गरी एक जनालाई सम्मान गरिने कार्यको यसै वर्षबाट सरकारले थालनी गरेको छ । 

बाबुराम आचार्य सगरमाथा पुरस्कार दुई पटकसम्म सगरमाथाको आरोहण गरेका सगरमाथाको उचाई मापन (८८४८.८६ मिटर) सर्वेक्षणमा नेपालबाट नेतृत्व गरेका नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमलाई प्रदान गरिएको छ ।  गौतम सगरमाथा सम्बन्धी महत्वपूर्ण सन्दर्भ सामग्री (पुस्तक) पन्ध्रौं चुलीका लेखक पनि हुन् । यसै गरी, कोसी प्रदेश सरकारले पनि सगरमाथा आरोही तथा पर्यटन क्षेत्रको विकास र विस्तारमा विभिन्न रूपमा योगदान पुर्याएका पाँच जनालाई सम्मान गरेको छ । २५ हजार रुपैयाँ राशिको उक्त पुरस्कारसँगै कदर पत्र र खादाले सङ्खुवासभाका आरोही तथा हेलिकप्टर लङलाइन रेस्क्यु स्पेसलिष्ट छिरिङ धेन्दुक भोटेलाई सम्मान गरेको हो । लमजुङका नरेन्द्र शाही, सोलुखुम्बुका ज्याल्जे शेर्पा, लाक्पा डेण्डी शेर्पा र आङ्ग सर्की शेर्पा पनि सम्मानित भएका छन् । सगरमाथा आरोहण गरी विभिन्न ऐतिहासिक रेकर्ड तथा आरोहणको कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएका, हिमाल आरोहणमा मानवीय जोखिम न्यूनीकरण गर्ने कार्यमा योगदान गरेका विभिन्न व्यक्ति र समूहलाई पनि सरकारले सम्मान गरेको छ । जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी १३ जनालाई प्रदान गरिएको छ ।  हालै मात्र ३० औँ पटक सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी पर्वतारोही गाइड कामीरिता शेर्पाले पनि उक्त सम्मान पाएका छन् ।