काठमाडौ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले चौतारा अस्पतालको भवन उद्घाटन गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी प्रवर्द्धन गर्ने गरी बजेट सार्वजनिक गरिएको बताए।‘गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ,’ पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ।’
उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जानकारी दिए।‘प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ, त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,’ प्रधानमन्त्री प्रचण्डले भने। उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए।देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे।
‘शारीरिक तथा मानसिक रूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्रै कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यही कुरालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ।’