काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले भेटिँदैन भन्नेहरू अहिले बेपत्ता रहेको भन्दै व्यङ्ग्य गरेका छन् ।
काठमाडौँमा बुधवार एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उनले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा उत्रिएजस्तै एमालेका तर्फबाट महिलाहरू मैदानमा उत्रिएर पार्टीलाई जोगाएको बताए । ‘धेरैले भने चुनावपछि टर्च बालेर हेरे पनि एमाले भेटिँदैन, धुलो पिठो बनाइदिन्छौ र एकसरी भने अलि खुलस्त लागे, धेरै थरी लागे नेकपा एमालेलाई ध्वस्त पार्न । तर, देवासुर सङ्ग्राममा देवीहरू मैदानमा उत्रिएको जस्तै नेकपा एमालेको तर्फबाट देवीहरू मैदानमा उत्रिए सबै सखाप,’ उनले भने, ‘टर्च बालेर खोज्दा एमाले भेटिँदैन भन्नेहरू टर्च बालेर मात्र भेटिन्छन् अहिले । आज एमाले जसरी सबल अवस्थामा पुगेको छ, महिलाहरूको असाधारण भूमिका छ ।’
उनले अहिलेको व्यवस्था परिवर्तन भए तापनि अवस्था जहाँको त्यहीँ छ भन्ने गलत भाष्य निर्माण भइरहेको बताए । विगतमा भएका सङ्घर्ष, लडाइँलाई अहिलेको पुस्ताले मूल्याङ्कन गर्न नसकेको उनको जिकिर छ। उनले भने, ‘अहिले अवस्था जहाँको त्यहीँ छ भन्ने होइन । एउटा गलत शब्दावलीको प्रयोग भइराखेको छ अहिले नेपालमा व्यवस्था परिवर्तन भयो, अवस्था जहाँको त्यहीँ छ भन्ने । भर्खर आएको केटाकेटीले के देख्नु के, अवस्था कहाँ थियो, कहाँबाट कहाँ आइपुगियो भनेर ? कति सङ्घर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहाँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्ता उस्तै रे । कहाँ छ उस्ता उस्तै छ ? महिलाको उपस्थिति संसद्मा ३३ प्रतिशत छ ।’
सहकारी संस्थाहरू सङ्कटमा परेको प्रसङ्गमा उनले गलत तत्त्वले सहकारीलाई माध्यम बनाएर ठगी गरेको आरोप उनले लगाए । गैरसहकारीवालाहरु, ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही ठुला सहकारी समेत बदनाम भएको उनले बताए । उनले भने, ‘अहिले सहकारीमा गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठुला सहकारी बदनाम भएको छ । त्यहाँ समस्याग्रस्त भएको छ । ती सङ्कटग्रस्त छन् । तर, साँच्चैको सहकारीहरू सङ्कटग्रस्त हुँदैनन्, आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ, कुनै समस्या हुँदैनन् ।’