सडक विभागले बालेनलाई पठायो कारबाहीसहितको चेतावनी पत्र

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०५ दिन अगाडि
सडक विभागले बालेनलाई पठायो कारबाहीसहितको चेतावनी पत्र

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध सडक विभागले ‘एक्सन’ लिएको छ । न्युराेड क्षेत्रमा बालेनको गतिबिधिमाथी निगरानी राख्दै सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले भत्काइएको सडक खण्ड २ दिनभित्र पुनर्स्थापना गर्न अनुरोधसहितको पत्र काटेको हो । 

पत्र अनुसार नगरिए सार्वजनिक सडक ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने पनि सडक विभागले चेतावनी दिएको छ।

बुधबार महानगरलाई पठाएको कार्यालयको पत्रमा भनिएको छ,‘मिति २०८१।०२।०३ को पत्रमार्फत पनि यस कार्यालयको कार्यक्षेत्र भित्र सहमति विना कुनै पनि काम नगर्न नगराउनु हुन भनी अनुरोध गरिएतापनि मिति २०८१।०१।१२ मा विना सहमति न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा त्यहाँबाट सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप हुने कार्य भएको देखिएकोले सो कार्य तुरुन्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिनु हुन भनी मिति २०८१।०२।१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनर्स्थापना भएको देखिएन ।’ 

कार्यालयले महानगरबाट भत्काइएका सडक खण्ड २ दिनभित्र मर्मत गर्न आग्रह गरेको छ । मर्मत नभएमा  सार्वजनिक सडक ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ ।