काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेयता ओह्रालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले घटेको छ ।
बिहीबार नेप्से परिसूचक १९.८९ अङ्कले घट्दै २०६९.५३ मा रह्यो । ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि बुधवार परिसूचक २३.८१ अङ्कले घट्दै २०८९.४२ को विन्दुमा रहँदा १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँमा किनबेच भएको थियो । बिहीबार १३ मध्ये उत्पादन तथा प्रशोधन, जलविद्युत र फाइनान्सबाहेक सबै उपसमूह घटेका छन् । वाणिज्य बैङ्क उपसमूह सर्वाधिक १.७२ प्रतिशतले घटेको छ । २४७ कम्पनीको सेयर कारोबारमा १७३ को सेयर मूल्य घटेको छ ।
पोखरा फाइनान्सका लगानीकर्ता धेरै नोक्सानीमा छन् । उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट नै लागेको छ । कालिन्चोक दर्शन, वाराही हाइड्रोपावर, नेपाल वेयरहाउस पनि घटेका छन् । ७० कम्पनीको सेयर मूल्य बढ्दा तीन कम्पनीको सर्किट नै लागेको छ । नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरका सेयरमा सर्किट लागेको हो । मनकामना इन्जिनियरिङ हाइड्रोपावर र युनिभर्सल नेपालको सेयर पनि सर्किट स्तरमा बढेको छ । सेयर मूल्य बढेर सर्किट लागेको नेपाल फाइनान्स नै बिहीबार सर्वाधिक कारोबार भएको कम्पनीमा परेको छ ।
उक्त फाइनान्सको १९ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै ज्ञादी ग्रुप अफ पावरको १५ करोड ३० लाख, जानकी फाइनान्सको १३ करोड ६० लाख, सीइडीबी हाइड्रोपावरको १२ करोड ३ लाख र कालिन्चोक दर्शनको १० करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।