मन्त्रालयलाई बजेट अपुग भएकोमा महिला मन्त्री असन्तुष्ट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९२ दिन अगाडि
मन्त्रालयलाई बजेट अपुग भएकोमा महिला मन्त्री असन्तुष्ट

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला मन्त्रालयमा अहिलेको नीति तथा कार्यक्रमबाट पनि पर्याप्त बजेट नआएको गुनासो गरेकी छिन् । 

बिहीबार काठमाडौँमा आयोजित इनफ अभियानको औपचारिक सुरुवात कार्यक्रममा उनले महिला मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा पनि पर्याप्त बजेट नआउनु दुखद विषय रहेको बताइन् ।  उनले भनिन्,‘ मुलुकमा ५१.४ प्रतिशत महिला र अलि तल परेका बालबालिका ११ प्रतिशतभन्दा बढी छन् । ज्येष्ठ नागरिक आठ प्रतिशतभन्दा बढी छन् । अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको सङ्ख्यालगायतलाई हेर्दा मन्त्रालय धेरै संवेदनशील र महत्त्वपूर्ण छ ।

 विभेदमा परेको उनीहरूलाई राज्यले अभिभावकत्व दिने हो तर यसमा बजेटको सीमा पर्याप्त खालको छैन ।’उनले बजेट पर्याप्त नभएको अवस्थामा विभिन्न विकास साझेदार संस्थाहरूसँग मिलेर महिला बालबालिकाको क्षेत्रमा काम गर्नुपर्ने बताइन् । १५ पञ्चवर्षीय योजनाले नसमेटेका कुराहरू १६ औँ पञ्चवर्षीय योजनामा प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ ।  

उनले भनिन्, ‘बजेट पर्याप्त नभएको अवस्थामा विभिन्न विकास साझेदार संस्थाहरूसँग मिलेर हामीले मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा काम गर्नुपर्ने छ । सँगसँगै हाम्रो १६ औँ पञ्चवर्षीय योजना अहिले आउँदै छ । १५ औँ योजनाले देखाएका विषयहरू १६ औँ योजनाले सङ्केत गरेको कुराहरू त्यसमा पनि अझ अलि पछाडि परेको ठाउँहरूलाई प्राथमिकतामा राख्नुपर्छ । ’