काठमाडौ - बिर्तामोड–४ की वृद्धा विष्णुमाया विष्टको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य अभियुक्त गङ्गाप्रसाद राजवंशी रहेको जनाएको छ । चोरी गर्ने उद्देश्यले राजवंशीको समूहले ६८ बर्सिया विष्टको हत्या गरेको खुलेको झापाका प्रहरी प्रमुख मिलन केसीले बताए । बिर्तामोड–४ का २२ वर्षीय राजवंशीले सोही स्थानका २३ वर्षीय महेश राजवंशीको सहयोगमा हत्या गरेको केसीले जानकारी दिए ।
प्रहरीले चोरीको सामान लुकाउन भूमिका खेलेको अभियोगमा गङ्गाप्रसादकी श्रीमती वर्षा राजवंशी, चोरीको सामान बेच्न सघाउने सोही ठाउँमा ‘ज्याक’ भनिने भगीरथ माझी र चोरीको सामान खरिद गर्ने अर्जुनधारा–६ का हनुमान सुनचाँदी पसल सञ्चालक धनबहादुर कामीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार गङ्गाप्रसाद र महेश राजवंशी मिलेर चोरी गर्ने योजनाअनुसार वैशाख २६ गते विष्टको घरमा गएका थिए । घरमा एक्लै रहेको समयमा चोर आएको जस्तो लाग्यो भनेर उनले काठमाडौँमा रहेका छोरालाई फोनमा जानकारी गराइन् । त्यसपछि उनका छोराले छिमेकीलाई घरमा जान भने । छिमेकी आएर होहल्ला गरेपछि राजवंशीद्धय भागेका थिए ।