काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्ध भक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन् ।
जन सांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताए । उनले भने, ‘संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ । जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधार विन्दु मानी वैचारिक करण गरी संठगित गर्नुपर्छ ।’
‘जनयुद्ध’ कालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र सभ्य समाज निर्माणका लागि सङ्कल्प र पहल लिएको भन्दै उनले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरवी गर्ने, जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधार विन्दु मानी वैचारिक करण गर्नुपर्ने बताए । उनले भने, ‘पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ । यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको संवर्द्धन र विकास गरेर मात्र ज्ञान विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।’
उनले सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्ध भक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्य वाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरुद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको पनि बताए । उनले भने, ‘असल संस्कृति समृद्ध जीवनको प्राण हो, साहित्य, कला, नाट्य, गीतसङ्गीत, नृत्य, वास्तुकला जति पनि कलासँग सम्बन्धित विधाहरू छन्, तिनको संरक्षण, संवर्द्धन, विकास र समयानुकूल सुधार र रूपान्तरणको बलमा नै समाजवादी संस्कृतिको जग बसाल्न सकिन्छ । यस दिशामा जन सांस्कृतिक महासङ्घ जस्ता संस्थाहरूले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ ।’
वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको स्पष्ट पार्दै राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढावजस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या नभएको उनको भनाइ छ । यस्तै, उनले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको बताए । कीर्तिपुर, बन्दीपुर, बुङ्बुङ्ती, थिमी, गोरखा, जनकपुर र मटिहानी लगायतका स्थानको संस्कृति, भाषा र संरक्षण गर्न विविध कार्यक्रम सञ्चालन गरिने विषय बजेटमा उल्लेख भएको छ ।