क्रिकेट मैदान निरीक्षणमा मन्त्री श्रेष्ठ, सन्दीपलाई दिए आश्वासन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८८० दिन अगाडि
क्रिकेट मैदान निरीक्षणमा मन्त्री श्रेष्ठ, सन्दीपलाई दिए आश्वासन

काठमाडौँ - युवा तथा खेलकुद मन्त्री वि राजभक्त श्रेष्ठले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा निरीक्षण गरेका छन् । 

बिहीबार मैदानको निरीक्षण गर्दै उनले बजेट बढेर आए पनि गर्नुपर्ने कामहरू अ सीमित रहेको भन्दै यसमा सबैको सहकार्य आवश्यक रहेको बताए ।  उनले भने, ‘पाँच वर्षको सबैभन्दा ठुलो बजेटमा आइपुगेका छौँ । तर चाहनाहरू अ सीमित छन् तर स्रोत र साधन पुँजी सीमित छन् । यसमा हामी सबै एकै स्थानमा बसेर काम गर्नुपर्ने बाध्यता छ । सधैँ राज्यसँग आस गरेर हुदैँन् । खेलकुद भनेको आफैँमा व्यावसायिक हुनुपर्छ । लगानी गरेवापत् राज्यले पनि केही खोज्छ ।’ 

साथै दर्शकहरूको खानेपानी र शौचालयको सुविधाको विषय महत्त्वपूर्ण भएको भन्दै त्यसलाई पनि सम्बोधन गर्दै जाने भन्ने निष्कर्षमा पुगेको बताए । रकमको सही सदुपयोग गर्ने, खेलाडीहरूको लागि होस्टेलको व्यवस्था र संरचनालाई सुदृढ गर्ने विषयमा मन्त्रालय गम्भीरताका साथ लाग्ने पनि उनले बताए ।  उनले भने, ‘छिमेकी राष्ट्र भारतले सहयोग गर्ने भनेको २० करोड रुपैयाँको कुरामा छलफल भएको छ । अब त्यसलाई कहाँ कसरी सदुपयोग गर्ने, सामाजिक उत्तरदायित्वको कुरा पनि बजेटमा आएको छ । त्यो रकमलाई कहाँ प्रयोग गर्ने वा  खेलाडीहरूको लागि होस्टेल बनाउनुपर्ने कुरामा छलफल भइरहेको छ । त्यसका लागि बाहिरी देशको प्रचलन अनुसार जाने र व्यवहारिक तरिकाले संरचनालाई सुदृढीकरण गर्ने साथै अन्तर्राष्ट्रिय स्तरका संरचना तयार गरेर प्रतिस्पर्धामा आउने हाम्रो उद्देश्य हो ।’

सोही क्रममा महासचिव पारस खड्काले मन्त्री श्रेष्ठको कुराले उत्साहित भएको भन्दै कानुनको अधीनमा रहेर छिटोभन्दा छिटो परिणाम ल्याउने हिसाबले अगाडि बढ्ने बताए । उनले भने, ‘अहिलेको हाम्रो प्राथमिकताको कुरा भनेको दर्शकहरू बस्ने स्थानलाई डिभाइडर गर्ने, महिला–पुरुष शौचालय बनाउने र भिआइपी एरियामा बसेर हेर्न मिल्ने संरचना बनाउने योजना भएको छ । आजको कुराले उत्साहित भएका छौ । कानुनमा बसेर काम अगाडि बढाएर छिटोभन्दा छिटो परिणाम ल्याउन हिसाबले अगाडि बढ्ने छौँ ।’

अवलोकन भ्रमणमा क्रममा मैदानमा अभ्यास गरिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई पनि भेटेर मन्त्री श्रेष्ठले कूटनीतिक पहलहरू भइरहेको सुनाउँदै सरकार गम्भीर रूपमा लागेको सुनाए । उनले भने, ‘हाम्रो तर्फबाट शतप्रतिशत काम भएको छ । उताको कुरा के के हुन्छ हेरौँ ।  त्यसमा कूटनीतिक कुराहरू छन् । सरकार पनि एकदम चिन्तित छ । कूटनीतिक कार्यमा गएर रोकिएको हो । केही राम्रो नै हुन्छ भन्ने आशा गरौँ ।’ निरीक्षणमा मन्त्री, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कालगायतका कर्मचारीहरू गएका थिए ।