कुपोषण र भोकमरीविरुद्ध ‘इनफ’ अभियान 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९९ दिन अगाडि
कुपोषण र भोकमरीविरुद्ध ‘इनफ’ अभियान 

काठमाडौँ - बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले ‘इनफ’ अभियान सुरुवात भएको छ ।

बालबालिकाको क्षेत्रमा कार्यरत वल्डभिजन इन्टरनेश्नल र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले संयुक्तरुपमा अभियानको घोषणा गरेका हुन् ।  बिहीबार भएको घोषणा कार्यक्रममा वल्डभिजन इन्टरनेश्नल नेपालका राष्ट्रिय निर्देशक रोज्लिन गाब्रियलले नेपालमा सन् २००१ देखि वल्डभिजनले बाल अधिकारको रक्षा तथा पोषण र स्वास्थ्यमा विशेष ध्यान दिएर बालबालिकाको कल्याणका लागि काम गरिरहेको बताइन् । इनफ अभियानले प्राथमिकरुपमा बाल भोकमरी र कुपोषण अन्त्यका लागि नेपाल सरकारको कार्यक्रम तथा प्रयासलाई सहयोग गरी बालबालिकाको पोषणलाई सुनिश्चित गर्ने लक्ष्य लिएको उनको भनाइ थियो ।

दिगो विकास लक्ष्य हासिल गर्न देशको प्रतिबद्धता र त्यसलाई प्राप्त गर्न बहु क्षेत्रीय पोषण योजना (तेस्रो) र  १६ औँ आवधिक योजना जस्ता राष्ट्रिय प्राथमिकतालाई पूरा गर्न यो अभियानले सघाउने उनले बताइन् । वल्डभिजन इन्टरनेट नेपालले नेपालमा बाल भोकमरी र कुपोषणको क्षेत्रमा नेपाल सरकारलाई सहयोग गर्न १७ लाख अमेरिकी डलर सहयोग दिने प्रतिबद्धता पनि जनाएको छ । विश्वका विभिन्न देशमा भोकमरी र कुपोषणमा रहेका बालबालिकाको खाद्य अधिकार र पोषणको अधिकारलाई सुनिश्चित गर्ने अभिप्रायका साथ २०२३ को सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाटै यो अभियानको घोषणा गरिएको हो ।

प्रत्येक ८ घरपरिवारमा १ जनाले खाद्य असुरक्षाको सामना गर्नुपरेको छ र स्वस्थ आहारको अभावमा प्रत्येक ४ मा १ जना बालबालिकाको मस्तिष्क र शरीर दुवैको पूर्ण क्षमतामा वृद्धि हुन नसकेको पाइएको र यो अवस्था अन्त्य गर्न वल्डभिजन इन्टरनेट नेपाल र अकोराबको सहकार्यमा ३ वर्षे अभियानको औपचारिक सुरुवात गरिएको हो ।कार्यक्रममा बालबालिका, बिभिन्न सरोकारवाला निकायका प्रतिनिधि, सरकारी प्रतिनिधि, सरोकारवाला मन्त्रालयका पदाधिकारी, सांसद, संवैधानिक आयोगका पदाधिकारी, दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, पोषणविद्, पत्रकार र साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अभियानले विद्यालय र समुदायका बालबालिकाका लागि पोषणयुक्त खाना र पूरक आहारमा पहुँचसहित केही प्रमुख क्षेत्रहरूलाई प्राथमिकता दिनेछ ।

पर्याप्त तथा विशेष स्तनपनमा वृद्धि बाल वृद्धि अनुगमन र पोषणमैत्री स्थानीय शासन अभिवृद्धि गर्न सरकारसँगको सहकार्य बालबालिकाको भोकमरी र कुपोषणलाई सम्बोधन गर्न बजेट बढाउन वकालत गर्ने विषयमा अभियान केन्द्रित हुनेछ ।वर्ल्ड भिजन इन्टरनेट नेपालले सन् २०२५ सम्म विशेष गरी सबैभन्दा जोखिममा परेका १० दशमलव ७ मिलियन बालबालिकाको स्वास्थ्य सुधार गर्न कार्यक्रम केन्द्रित गर्ने जनाएको छ ।  अभियान १६ जिल्लाका ५३ वटा पालिकामा सञ्चालन गरिनेछ ।