रण–अम्बिका शाह सेवा गुठीद्वारा विभिन्न सङ्घसंस्थालाई सम्मान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०४ दिन अगाडि
रण–अम्बिका शाह सेवा गुठीद्वारा विभिन्न सङ्घसंस्थालाई सम्मान

काठमाडौँ - समाजसेवी रणबहादुर शाह (गोते बाबु) र उनकी श्रीमती अम्बिका मल्लको नाउँमा स्थापित रण–अम्बिका शाह सेवा गुठी नेपालले वार्षिक उत्सवको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरेको छ ।

श्री शाहका परिवारजनको विशेष सक्रियतामा अम्बिका निवास,  लाजिम्पाटमा बिहीबार आयोजित एक समारोहमा  गुठीले विभिन्न व्यक्ति र संस्थालाई नगदसहित सम्मान गरेको हो । संस्थाका अध्यक्ष चिन्तामणि नाथ योगीको सभापतित्व एवं पूर्व मुख्यसचिव शङ्कर वैरागीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिर्जनात्मक कला गुठी नेपाल धोविघाटकी संस्थापितका उर्मिला गर्ग उपाध्याय र दाङको पाण्डवेश्वर महादेव मन्दिर, धार पानीलाई नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित ‘रण–अम्बिका सेवा पुरस्कार’ प्रदान गरिएको थियो ।

पाण्डवेश्वर मन्दिरको तर्फबाट अध्यक्ष गणेश अधिकारीले प्रशंसा पत्रसहित नगद ग्रहण गरेका थिए । यसै गरी, नेपाली शिक्षा परिषद् सोह्र खुट्टे काठमाडौँलाई ७ लाख, हिन्दु विद्यापीठ नेपाल थली काठमाडौँलाई ५ लाख, एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र थापाथलीलाई ५ लाख,  त्रिवेणी धाम आरती समूह शंखमुललाई  २ लाख प्रदान गरिनुका साथै  दुर्गा मन्दिर धर्ना, दाङलाई निरन्तर सहयोग गर्ने घोषणा पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्य सचिव शङ्कर वैरागीले नेपालमा गुठीहरूले राम्रो काम गरिरहेको बताउँदै त्यसका लागि आफ्नो ठाउँबाट सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।