काठमाडौँ -नेपालकै पहिलो डिजे तेन्जिङ शेर्पाले हिमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा आरोहण गरेका छन् ।
जेठको दोस्रो साता क्याम्प–२ मा डिजे कन्सर्ट गर्दै सगरमाथाको चुचुरो उक्लिएका उनी शुक्रवार काठमाडौँ फर्किएका हुन् । काठमाडौँमा उनलाई भव्य स्वागत गरिएको छ । सम्भवतः उनी सगरमाथा आरोहण गर्ने पहिलो डिजे हुन् । उनले क्याम्प–२ मा डिजे कन्सर्ट गरेर वर्ड रेकर्ड बनाएको बताए । ‘ग्लोबल वार्मिङ रोकौँ, हिमाल संरक्षण गरौँ’ भन्ने नारासहित उनले दुई महिना लगाएर सगरमाथा आरोहण गरेको बताए।
‘व्यक्तिगत उपलब्धि र रेकर्ड राख्नेभन्दा पनि अहिले जलवायु परिवर्तनका कारण विश्वलाई नै अप्ठ्यारो परिरहेको अवस्था छ । यस्तोमा हिमालको संरक्षण गर्नुपर्छ भनेर एउटा चेतनामूलक अभियानको प्रारम्भकोरुपमा सगरमाथा आरोहण गरेको हुँ,’ उनले भने, ‘सोचेअनुरूप आफू सफल भएँ, एकदमै खुसी छु ।’