काठमाडौँ - पछिल्लो समय व्यस्त गायक हुन् दीपक चौलागाईं ।
उनको व्यस्तता स्टेज कार्यक्रमदेखि स्टुडियोसम्म हुने गरेको छ। ‘जब तिम्रो न्यानो न्यानो अँगालोमा बेरिए म..’गीतमा आवाज भरेदेखि दीपकले साङ्गीतिक क्षेत्रमा पछि हेर्नुपरेन । इन्जिनियर बन्न भनेर काठमाडौँ छिरेका उनी शिक्षण पेसामा छन् ।देशका विभिन्न कार्यक्रममा व्यस्त उनी विदेशका कार्यक्रममा समेत प्रस्ताव आउने गरेको छ । उनै दीपकले आवाज भरेको एउटा गीत हालै सार्वजनिक गरिएको छ ।
विगत तीन दशकदेखि नेपाली साङ्गीतिक क्षेत्रमा रमाइरहेकी गायिका अन्जु पन्त र दीपक चौलागाईंको स्वरमा रहेको गीत ‘मलाई मन परेको मान्छे’ यही आइतबार सार्वजनिक गरिएको हो । अन्जुसँगको पहिलो सहकार्य भएका कारण आफूमा थप हौसला र ऊर्जा थपिएको दीपकले सुनाए । जगत् तिरुवाको शब्द सङ्गीत र सङ्गीतकार विशाल निरौलाले एरेन्ज गरेको गीतको भिडियो भने केही दिनमा सार्वजनिक गरिने उनले बताए ।
तर यहाँसम्म आइपुग्दा दीपकले धेरै नै सङ्घर्ष गरेको सुनाए । छोटो कुराकानी गर्दै उनले भने, ‘ जीवनमा सङ्घर्ष त चलिरहने प्रक्रिया हो। एक पटक उचाइमा पुगेपछि फेरि अर्को उचाइमा पुग्ने लक्ष्य हुन्छ । यो जीवन एउटा प्रक्रिया हो उतार चढावहरू आइरहन्छन् । तर आफूले मेहनत गरिरहने हो ।’
विज्ञान विषय अध्ययन गरेका दीपक सङ्गीत र फिजिक्स एक अर्काको परिपूरक रहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले म्युजिक क्षेत्रमा जति पनि साउन्डका कामहरू गर्छौँ ती सबै फिजिक्ससँग सम्बन्धित छन् । गीत रेकर्ड गर्ने स्टुडियोदेखि र हार्मोनियमसँग सम्बन्धित काममा समेत फिजिक्सले काम गर्ने उनले बताए ।
फिजिक्स र साइन्स जहाँ पनि सम्बन्धित हुने भन्दै उनले खोज्न मात्र जान्नुपर्ने बताए । उनले भने,‘तपाई हामी हार्मोनियम बजाउँछौँ । त्यो हार्मोनियम बजाउँदा त्यसबाट प्रवाह हुने ध्वनिमा फ्रिक्वेन्सी आउँछ, त्यो फ्रिक्वेन्सी नै फिजिक्स हो । त्यसैले सङ्गीत र विज्ञान अन्तर सम्बन्धित छन् ।