काठमाडौँ - नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा।डिला सङ्ग्रौलाले आफूलाई कर्णाणी प्रदेशको कथा राम्रोसँग जानकारी भएको बताएकी छन् ।
कर्णाली विकासको मूल प्रवाहमा जोडिन नसकेको चर्चा गर्दै उनले आफ्नो पार्टीले यसलाई प्राथमिकतामा राखेको बताइन । हुम्ला, जुम्लाका महिलाका कथाहरू आफूलाई राम्रोसँग थाहा भएको दाबी गर्दै सङ्ग्रौलाले कर्णालीवासीको विकास र समृद्धिका लागि काँग्रेसले पहल गर्ने आश्वासन दिइन ।
काँग्रेस सुर्खेतले शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले भनिन्, ‘कर्णालीमा समस्याहरू पनि छन्, चुनौतीहरू पनि छन्, साथसाथै सम्भावना पनि छन् । कर्णाली विकासको मूलधारबाट परेकै छैन । मूलधारबाट उज्यालोतर्फ लैजानका लागि काँग्रेसले पहल गर्छ । उज्यालो कर्णालीका लागि हामीले यात्रा तय गरिसकेका छौँ ।’‘काँग्रेस कहिले एक कदम अगाडि होला, कहिले एक कदम पछाडि होला । काँग्रेस कहिले सत्तामा होला, कहिले सडकमा होला, काँग्रेस कहिले भावनामा होला,’ सङ्ग्रौलाले भनिन्, ‘जहाँ भए पनि काँग्रेस जनसवाल र जनताको केन्द्रबिन्दु बन्नै पर्छ ।’
काँग्रेस जनताको केन्द्रबिन्दु बन्न नसके विभिन्न वर्गको आशाको केन्द्र बन्न नसक्ने पनि बताइन् । ‘जनताको केन्द्रबिन्दु बन्न सकेन भने २१ औँ शताव्दिको आधुनिक काँग्रेस महिला, दलित, आदिवासी–जनजातिलगायतका सबै वर्गको आशाको केन्द्र बन्न सक्दैन,’ उनले भनिन् ।