काठमाडौ -नेकपा एमालेको संसदीय दलको बैठक जारी छ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसोदेखि संसदीय दलको बैठक बसिरहेको छ। आइतबारदेखि संसदमा बजेटमाथिको छलफल सुरु हुँदैछ। एमालेले उक्त छलफलमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सांसदहरूलाई प्रशिक्षण दिनका लागि आज संसदीय दलको बैठक राखेको हो। प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टीका तीन पूर्वअर्थमन्त्रीहरूले सांसदहरूलाई बजेटबारे ओरियन्टेसन दिएका छन्।
पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले बजेटबारे ओरियन्टेसन दिँदै हुनुहुन्छ। भोलिदेखि संसदमा हुने बजेटमाथिको छलफलमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको छ, उनले भने। भोलि बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। बैठकमा सरकारले आर्थिक वर्ष २०८०र०८१ का लागि ल्याएको बजेटबारे छलफल सुरु हुनेछ।