सरकारद्वारा प्रस्तुत बजेटमाथि दुवै सदनमा छलफल हुँदै 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०२ दिन अगाडि
सरकारद्वारा प्रस्तुत बजेटमाथि दुवै सदनमा छलफल हुँदै 

काठमाडौँ | गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेटमाथि आज आइतबार सङ्घीय सरकारका दुवै सदनमा छलफल हुने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बोलाइएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते (मङ्गलवार) संसद्मा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ।

आजै दिउँसो सवा १ बजे सुरु हुने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा पनि राजस्व र व्ययमाथिको वार्षिक अनुमानमाथि छलफलको कार्यसूची छ । 

योसँगै राष्ट्रिय सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिने अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सचिवालयले जनाएको छ । 

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तथा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेद सभा समक्ष पेस गर्ने संसद् सचिवालयका महासचिव पाण्डेले जानकारी गराएका छन् ।