काठमाडौँ - काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहको व्यवहार असभ्य रहेको एमाले अध्यक्ष के.पी शर्मा ओलीले टिप्पणी गरेका छन् ।
शनिवार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काठमाडौँका मेयर बालेन शाह प्रति लक्षित गर्दै अध्यक्ष ओलीले त्यस्तो टिप्पणी गरेका हुन । सडक निर्माणका विषयमा मतभेद भएपछि गत साता दबाब दिन काठमाडौँ महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि मेयर शाहको निर्देशनमा एक ट्रक धुलो लगेर खन्याएको थियो । उक्त घटनापछि मेयर शाह र एमाले नेता उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको सम्बन्ध चिसिएको छ ।
सोही घटनालाई ओलीले आपत्ति जनाएका हुन् । उनले सामाजिक सञ्जालमा रमाउने युवा पुस्ताले सही गलत निर्क्योल गरेर निर्धक्क भन्न नसकिरहेको पनि जिकिर गरे ।
‘म छक्क पर्छु कत्ति साह्रो कमजोर प्रवृत्ति होला, कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँक्छ ? गलत गर्यौं भनेर कसैले भन्न सक्दैन । के हालत होला ? यो गलत हो । यस्ता क्रियाकलाप स्वतन्त्र र सभ्य समाजको लागि हुन हुँदैन,’ उनले भने, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने ? यो कुनै सभ्यता हो ? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन ? उनीहरूको एउटा मण्डली हुन्छ, त्यसले वा जन्मिएछ एउटा बहादुर क्या बात लेख्छ । अनि अरू चुप लागेर बस्छन् झोक्राएर । यो त सभ्य तरिका भएन भनेर सत्य कुरा भन्न सकिँदैन ! यो एउटा महत्त्वपूर्ण पोस्टमा बसेको मान्छेले गर्न मिल्ने व्यवहार होइन । त्यति पनि भन्न सकिँदैन ?’